राष्ट्रिय कलेजको स्ववियु सभापतिमा सुन्दर गौतम विजयी

लोकपथ
140
Shares

कैलाली । राष्ट्रिय कलेज सुखडको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियु क्रान्तिकारीका सुन्दर गौतम निर्वाचित भएका छन् । आइतबार सम्पन्न भएको स्ववियु निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।

जसअनुसार गौतमले १५३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेविसंघका कर्णवीर कठायतले १११ मत ल्याएर पराजित भए । यस्तै, सचिवमा अखिल क्रान्तिकारीकै सम्झाना चौधरी १२९ मत प्राप्त गरी निर्वाचित भएकी छन् । कोषाध्यक्षमा नेविसंघकी बाटनिशा चौधरी १४० मतले निर्वाचित भएकी छन् ।

सदस्यहरू अखिल क्रान्तिकारीका दिपेश थारू १६१ मत, माल्ती चौधरी १६६ मत, नेविसंघकी गिता चौधरी १७२ मत, विस्नाकुमारी विष्ट १४० मत र संगिता चौधरी १७१ मत प्राप्त गरेर निर्वाचित भएका छन् । राष्ट्रिय कलेज सुखडमा जम्मा ३७८ मत खसेको थियो भने ४ मत बदर भएको छ ।

कैलालीमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त ९ वटा क्याम्पसमा आइतबार शान्तिपूर्ण मतदान भएको थियो । जिल्लास्थित ऐश्वर्य बहुमुखी क्याम्पस धनगढी, रघुनाथ बहुमुखी क्याम्पस जोशीपुर, महुन्याल बहुमुखी क्याम्पस भजनी, बुलबुले बहुमुखी क्याम्पस पहलमानपुर, घोडाघोडी बहुमुखी क्याम्पस सुखड र राष्ट्रिय कलेजमा निर्वाचन भएको थियो ।

यस्तै, लम्की बहुमुखी क्याम्पस, चौमाला बहुमुखी क्याम्पस र खप्तड बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । १४ वर्षपछि भएको स्ववियु निर्वाचनमा विद्यार्थी उत्साही भएर मतदान प्रक्रियामा सहभागी भएका थिए । प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखियता नियमित हुन सकेको थिएन ।

स्ववियु निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने प्रावधान छ ।

सरकारले विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यन्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यन्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?