काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले पार्टीको विचार बोक्नेहरुबाटै राप्रपामाथि प्रहार हुने गरेको टिप्पणी गरेका छन् ।
नाम उल्लेख नगरी राप्रपाको जस्तै विचार बोक्ने, राप्रपाका बारेमा बोल्ने, राप्रपालाई अर्ति उपदेश दिने गरे पनि निर्वाचनका बेला अन्य विचार बोक्नेहरुलाई मत दिने गरेको बताए ।
सामाजिक सञ्जालमा लेख्दै प्रवक्ता श्रेष्ठले गत निर्वाचनमा पार्टी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको हारको उदाहरण दिँदै सो टिप्पणी गरेका हुन् । उनले मिश्रको हार अरुबाट नभएर राजवादी भनिनेहरुबाटै भएको भन्दै कटाक्ष गरे ।
‘रवीन्द्र मिश्रको हारमा राजावादी भनिनेहरु नै हारको कारण बन्न पुगेका होइनन् र ? हामीलाई जान्न मन छ, हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दा लिएर राजनीतिक समुह बनाएका, आफ्नै उमेदवार खडा नगरेका १०० भन्दा बढी दल र समुहले गएको निर्वाचनमा कहाँ भोट हाले ?’ उनले अघि भनेका छन्, ‘एकाथरि मान्छेहरु राप्रपाको जस्तै विचार बोक्छन्, बोल्छन् तर राप्रपाका लागि सधैंको प्रतिपक्षी जस्ता देखिन्छन् । संगठित रुपमा राप्रपालाई अर्ती उपदेश दिन्छन्, भए नभएको प्रचार, दुष्प्रचार गर्छन्, आवश्यक परे तल्लो स्तरको टिप्पणी पनि गर्छन्, चुनावको बेला तिनले राप्रपालाई होइन कांग्रेस कम्युनिस्टलाई भोट दिन्छन् भन्ने हाम्रो आरोप छ। एकाध राजावादी छन् तिनले आफै उमेदवार बनेर राप्रपाका उमेदवारलाई हराइदिए ।’
आफूहरुको मुख्य लक्ष्य राजसंस्था, हिन्दुराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा जनमत बटुल्ने भए पनि राजावादीहरुले एकले अर्कोलाई कमजोर देखाउने गरेको कारण अभियान नै फितलो भएको बताए ।
सबै मिलेर राप्रपाको शिद्धान्त बोकेर त्यसको विरुद्ध लाग्नेहरुलाई निशाना बनाइनुपर्ने भए पनि आफूहरु नै त्यसको निशानामा परेको उनको आरोप छ ।
‘हामी सबैको साझा लक्ष्य राजसंस्था, हिन्दुराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा जनमत बटुल्ने हुनुपर्ने हो। आफूलाई राम्रो बनाउने र आफ्नो अभियान सञ्चालन गर्ने क्रममा अर्कोलाई दोषी देखाउने प्रवृत्ति राष्ट्रवादी आन्दोलनको सबैभन्दा कमजोर पक्ष हो । निशाना बनाउनुपर्नेहरु अरु नै छन् तर लामो इतिहास भएको, समान विचार बोकेको, यहि एजेन्डा लिएर निर्वाचन मार्फत वैधानिक रुपमा स्थापित भएको, संसदको पाँचौ र यो एजेन्डाको प्रमुख शक्ति राप्रपालाई किन निशाना बनाइदैछ ?’ उनले भने ।
राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न आज राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । सो बैठकमा यी एजेण्डाहरुको बारेमा व्यापक छलफल हुने समेत उनले बताए । बैठकले देशभरबाट आएका कार्यकर्ता तथा सुभेच्छुकहरुको सल्लाह बमोजिम निर्णय हुने समेत उनको विश्वास रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया