काठमाडौं– राहदानी विभागले सेवाग्राहीहरूलाई राहदानी जारी गर्ने क्रममा यसको विश्वसनीयता र गुणस्तर अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड बमोजिम तुल्याउने प्रयास गर्दै आएको जनाएको छ।
सञ्चारमाध्यममा राहदानी बनाउन जाँदा रातो कपाल हुनेलाई जुत्ताको पालिस लगाएर कालो कपाल बनाइदिने गरेको आसयको समाचार प्रकाशित भएपनि विभागले सेवाग्राहीकै अनुरोधमा कालो पालिस उपलब्ध गराइएको र सोबारे गलत प्रचार गरिएको जनाएको छ ।
विभागले कपालको रङ्ग सम्बन्धमा सेवाग्राहीहरुलाई सुझाव नदिन तथा कुनै पनि किसिमको रङ्ग विभाग परिसरभित्र उपलब्ध नगराउन कर्मचारी तथा सम्बन्धित सुरक्षाकर्मीलाई निर्देशन पनि दिएको छ ।
‘राहदानी वाहकको विदेश यात्रा झन्झट मुक्त राख्नका लागि उल्लिखित मापदण्ड, प्रचलित राहदानी नियमावली तथा व्यवहारिक पक्षलाई ध्यान दिई फोटोमा व्यक्तिको प्राकृतिक स्वरुप देखियोस् भनी अप्राकृतिक रङ्ग लगाई कपाल रातो भएका सेवाग्राहीहरुलाई कर्मचारीहरुले आफ्नो कपालको प्राकृतिक रङ भएको फोटो खिच्न सुझाव दिएको हुनसक्छ’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर अनिवार्य कालो लगाउन बाध्य पारिएको भन्ने कुरा सत्य होइन । विदेश यात्राको क्रममा आइ पर्न सक्ने सम्भावित झण्झटलाई न्युनीकरण गर्ने स्वच्छ उद्देश्यबाट मात्र उक्त अनुरोध गर्ने गरिएको हो । यस अलावा, विभाग परिसरभित्र रहेको नेपाल प्रहरीले कालो पालिस पनि सेवाग्राहीको अनुरोधमा नै उपलब्ध गराएको बुझिएको छ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया