काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाहको सन्देश विरोधाभाषपूर्ण रहेको बताएका छन् ।
प्रजातन्त्र दिवसका अवसरमा ज्ञानेन्द्र शाहले दिएको सन्देशमा एकतातिर सहकार्य र अर्कोतिर मौन नबस्ने भनाइ विरोधाभाषपूर्ण रहेको बताएका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै थापाले राजाको सो भनाइले दलहरुसँग सहकार्य नभइ द्धन्द बढाउने बताएका छन् ।
‘प्रजातन्त्र दिवसको अवसरमा राजाको सन्देशमा केही विरोधाभास देखिन्छ। एकातिर सहकार्यको कुरा गर्ने, अर्कोतर्फ अब “मौन नबस्ने“ चेतावनी दिईएको छ। यो परस्पर विरोधी कुरा हुन्। यस्तो चेतावनीले दलहरुसँग सहकार्य होईन, द्वन्द्व बढाउने छ ।’ उनले भनेका छन् ।
त्यस्तै विदेशी शक्ति र देशमा राजनीतिक अस्थिरता बढाएर सेनाले राजसंस्था ल्याइदिन्छ भन्ने राजाको सोचमा परिवर्तन आएको टिप्पणी गरेका छन् ।
‘नेपालमा विदेशीले बोकेर वा देशमा राजनीतिक अस्थिरता बढाएर सेनाले राजसंस्था ल्याईदिन्छ भन्ने राजा ज्ञानेन्द्रको सोचमा परिवर्तन आएको मैले महसुस गरेको छु । राजाको आगामी कदमको म उत्सुकतापुर्वक पर्खिरहेको छु ।’ थापाले भनेका छन् ।
केही समयदेखि पूर्व राजा र राजसंस्थाप्रति कटु आलोचना गरिरहेका थापाले राजनीतिक दलहरुसँग सहकार्य गर्ने प्रस्ताव गर्नु सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । अन्य राजनीतिक दलहरुसँग सहकार्य गरेर मुलुकमा स्थायीत्व दिने कुरा सकारात्मक भए पनि अब राजसंस्था फर्किने कुरा ढिला भइसकेको समेत टिप्पणी गरे ।
‘राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सन्देश दिँदै राजा ज्ञानेन्द्रले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव गरिनु सकारात्मक भएको मलाई लागेको छ।“अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन“ भन्ने राजा ज्ञानेन्द्रको भनाई सान्दर्भिक छ। यस्तो सोच धेरै अघि नै आउनुपर्थ्यो, धेरै ढिलो भैसक्यो। वागमतीमा धेरै पानी बगिसक्यो।’ उनले भने ।
त्यस्तै राजनीतिक दल र नेताहरुको कमजोरी वा असफलताको परिणामस्वरुप राजसंस्था पुनःस्थापना हुने नभइ प्रजातन्त्र रहेसम्म एउटा दल वा नेता असफल भए अर्को दल वा नेता छान्ने अधिकार जनतालाई हुने उनको बुझाइ ने उनको बुझाइ छ । जस कारण दलहरुले सिर्जना गरेको फोहोर देखाएर भन्दा पनि राष्ट्रियता, प्रजातन्त्र र आर्थिक विकासको निम्ति राजसंस्था सहायक हुन्छ भन्ने मान्यताको विकास गर्नुपर्ने उनको जोड छ ।
‘दल र नेताहरुको कमजोरी वा असफलताको परिणामस्वरूप राजसंस्था पुनःस्थापना हुने होइन। प्रजातन्त्र रहेसम्म एउटा दल वा नेता असफल भए अर्को दल वा नेता छान्ने अधिकार जनतालाई रहन्छ ।’ उनले लेखेका छन्, ‘त्यसैले, दलहरुले सिर्जना गरेको फोहोर देखाएर होईन, राष्ट्रियता, प्रजातन्त्र र आर्थिक विकासको निम्ति राजसंस्था सहायक हुन्छ भन्ने मान्यताको विकास हुनुपर्छ ।’
राजाले गरेको सहकार्यको प्रस्ताव केवल भाषणमा मात्र नभएर व्यवहारिक रुपमा राजा सचेत हुनुपर्ने उनले बताए ।
‘सहकार्यको प्रस्ताव वा विचार केवल भाषण वा नाराको विषय मात्र हुनु हुँदैन । सहकार्यको अवधारणा अघि सार्दा त्यसलाई व्यवहारमा रुपान्तरण गर्ने वारे समेत राजाले सोचेको हुनुपर्छ । बल राजा कै कोर्टमा छ ।’ उनले भने ।
लामो समय राजासँग सहकार्य गरेका थापाले गत महाधिवेशनमा राप्रपा अध्यक्षमा पराजित भएसँगै त्यसको सम्पूर्ण दोष पूर्वराजा ज्ञानेन्द्रलाई लगाएका थिए । त्यसयता ज्ञानेन्द्र र राजपरिवारलाई आरोप थोपरेका उनी राजाको सन्देशपछि केही सकारात्मक देखिएको बुझ्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया