६ जनाको शव ‘डिएनए’ बाट पहिचान गरिने

लोकपथ
14
Shares

काठमाडौं । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौं ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालका फरेन्सिकविद् डा.तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताए । छ जनाको शव अब ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने उनले बताए ।

‘छ जनाको शव अत्यधिक जलेको हुनाले हामीलाई फरेन्सिक र फिङगर फ्रिन्ट विधिबाट पहिचानमा समस्या भयो, त्यसैले डिएनए विधिबाट पहिचान गर्ने प्रक्रिया सुरु गरेका छौँ,’ उनले भने । नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डिएनए’ परीक्षण गरिने छ । उनले ‘डिएनए’ परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमुना संकलन गर्ने कार्य भइरहेको जानकारी दिए ।

यो विधिबाट शव पहिचान गर्न कम्तीमा २२ दिन लाग्ने छ । विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौं ल्याइएको थियो भने पोखरामा २२ शवको जाँच गरिएको थियो । गत माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुदा जहाजमा सवार ७२ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?