अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ११ जना पक्राउ

लोकपथ
21
Shares

काठमाडौं । लागू औषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ परेका छन् ।

सो क्रममा नागढुङ्गाबाट ७ ग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित
झापा मेचीनगर नगरपालिका–७ घर भएका ३१ वर्षीय अमित राजबंशीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले काँकडभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३–००१ ख ८११० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, मनहरी गाउँपालिका(८ दारिमबासबाट अवैध लागूऔषध गाँजा करिब २० केजीसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४२ वर्षीय राज कुमार प्रजा र ४५ वर्षीय जित बहादुर मगर रहेका छन् ।

त्यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ केजीसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगञ्ज महानगरपालिका–४ घर भएका २३ वर्षीय दिपक थापा र सोही महानगरपालिका–३ बस्ने ४० वर्षीय जाकिर हुसेन रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ना.४१ प १६३० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै कैलाली, धनगढी महानगरपालिका–१३ कैलाली गाउँ बस्ने ३२ वर्षीय रोहित भट्टलाई अवैध लागूऔषध ब्राउनसुगर ४ सय ४० मिलिग्रामसहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

स्याङजा, गल्याङ नगरपालिका–१ राम्दीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ४० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका–१५ बस्ने ३७ वर्षीय जोन गुरुङ र ३९ वर्षीय लाल बहादुर गुरूङ रहेका छन् । बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग.१७ प ७२०० नम्बरको स्कुटरलाई प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै कञ्चनपुर, भिमदत्त नगरपालिका(३ तिलकपुर बस्ने बझाङ केदारस्युँ गाउँपालिका–७ काडाचौकी घर भएका ४० वर्षीय करन धामीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १५ केजी ५ सय २० ग्रामसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको संयुक्त टोलीले भिमदत्त नगरपालिका–३ तिलकपुरस्थित सिचाई नहरको किनारबाट धामीलाई ४ केजी ७ सय ७० ग्रामसहित पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा धामीले सोही ठाउँस्थित उनकै बज्यै नाता पर्ने राईमती देवी बोहराको घरमा राखेको थप १० केजी ७ सय ५० ग्राम चरेश जस्तो देखिने पदार्थ फेला परेको हो ।

यता नवलपरासी(पूर्व), कावासोती नगरपालिका–१६ चालिसकिलोबाट नियन्त्रित लागूऔषध फेनारगन २१ एम्पुल, नुर्फिन २१ एम्पुल र डाईजेपाम २१ एम्पुलसहित चितवन भरतपुर महानगरपालिका–१६ बस्ने २३ वर्षीय सबिन तामाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ना.८ ख ८८५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै मोरङ, विराटनगर महानगरपालिका–१५ बाट नियन्त्रित लागूऔषध लुपिजेसिक २९ एम्पुल, ऐभिल २९ एम्पुल, फेनारगन २९ एम्पुल र डाइजेपाम २९ एम्पुलसहित बेलबारी नगरपालिका(१ बस्ने ३४ वर्षीय उपेन्द्र खड्कालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को. ८ प ६५६२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक खड्कालाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

छुट्टाछुट्टै स्थानबाट पक्राउ परेकाहरुको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?