कैदीबन्दीका बालबच्चा हुर्काउने राना अब उपसभामुखको जिम्मेवारीमा

लोकपथ
0
Shares

झापा । कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभाको उपसभामुख बनेकी छन् । झापाको अर्जुनधारा–११ सालबाडी निवासी उनको अभिभावकत्वमा दुईवटा विद्यालय र १० वटा बाल संरक्षणगृह सञ्चालनमा छन् ।

जहाँ झापाबाट पाल्पासम्मका कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीका दुई हजार असहाय छोराछोरीले आश्रय मात्र होइन, शिक्षादीक्षा पनि पाइसकेका छन् । जीवनका ५२ वर्षे उकाली–ओराली बिताइसकेकी उनी आज प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भइन् ।

अब उनी कैदीबन्दीका छोराछोरीहरूको मात्र नभएर ‘संसद्कै नेतृत्व’ गर्ने महत्वपूर्ण जिम्मेवारीमा पुगेकी छन् । बुवा स्व.प्रताप रानामगर र आमा स्व.मनमाया रानामगरको कान्छी सुपुत्रीका रूपमा विसं २०२७ मा झापाको अर्जुनधारामा जन्मिएकी उनले २२ वर्षअघि दुईवटा कोठा भाडामा लिएर काठमाडौंमा कैदीबन्दीका असहाय छोराछोरीलाई आफ्नै संरक्षणमा लालनपालन गर्न थालेकी थिइन् ।

उनलाई यसका लागि प्रसिद्ध साहित्यकार पारिजातले प्रेरणा दिएकी थिइन् । घर छाडेर काठमाडौंमा पढ्न जाँदा उनलाई पारिजातले नै संरक्षण प्रदान गरेकी थिइन् । अर्जुनधाराको महारानीगञ्ज प्राथमिक विद्यालयको कक्षा ४ मा १२ वर्षको उमेरमा भर्ना भएर उनले औपचारिक शिक्षा प्रारम्भ गरेकी उनका दाजु जगत रानामगरले बताए ।

उनले समाजशास्त्रमा स्नातकोत्तर तहको शिक्षा प्राप्त गरिसकेकी छन् । उनकी एउटी छोरी सुविना राना छन् । पारिजातले सञ्चालन गरेको मानवअधिकारवादी संस्थामा उनले स्वयंसेवक बनेर मानवीय सेवाको थालनी गरेकी थिइन् । पारिजातसँगै कारागार जाँदा उनले कैदीबन्दीका दुःख र पीडामात्र नभएर तिनका सन्तानको अलपत्र अवस्थाको समेत जानकारी पाएकी थिइन् ।

उनले बन्दी सहायता नेपालमार्फत झापा, पाल्पा, काठमाडौंलगायत स्थानमा बाल संरक्षणगृह सञ्चालन गरिन् । तिनीहरूलाई पढाउन दुईवटा प्राथमिक विद्यालय सञ्चालन गरेकी उनले नै झापामा सञ्चालन गरेकी जुनकिरी प्राथमिक विद्यालयका प्रधानाध्यापक रञ्जित परियारले जानकारी दिए ।

बन्दी सहायता नेपाल (पीए नेपाल) की अध्यक्ष इन्दिरा राना राजनीतिमा लागेको धेरै भएको छैन । उनी लगातार बालअधिकार र मानवीय सेवामा लागिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गठन हुँदासमेत उनी कुनै पार्टीमा थिइनन् । रास्वपाका अध्यक्ष रवि लामिछानेले समाजसेवाबाट राजनीतिमा आउन आग्रह गर्दा उनी सुरुमा अलमलिएकी थिइन् ।

भुइँमान्छेको सेवामा लागिरहेको हुँदा राजनीतिमार्फत पनि समाजसेवा नै हुने कुरामा सहमत भएपछि उनी राजनीतिमा होमिइन् । छोटो अवधिमै रास्वपाले उनलाई समानुपातिक सिटबाट सांसद् निर्वाचित ग¥यो । अब उनको जिम्मेवारी सांसदबाट धेरै माथि उक्लिएर संसद्कै अभिभावक अर्थात् उपसभामुख तहमा पुगेको छ ।

उपसभामुख पदमा पुगेपछि दलगत राजनीतिमा सक्रिय हुने परम्परा छैन । उपसभामुख राना पनि छोटो अवधिमै राज्यको उपल्लो मध्येको पदमा पुग्न सफल भइन् । उनी आफूलाई जहिल्यै भुइँमान्छेको रूपमा चिनाउँछन् । एक साताअघि झापास्थित बाल संरक्षणगृहमा सांसदको रूपमा आउँदा उनले आफू जुनसुकै ओहोदामा पुगे पनि कैदीबन्दीका बालबच्चाहरूको आमाका रूपमा आफ्नो भूमिका कहिल्यै नफेरिने भावुक अभिव्यक्ति दिउकी थिइन् ।

‘हिजो भुइँमान्छे थिएँ, आज पनि उही भुइँमान्छे नै हुँ’, उनले भनिन्, ‘हिजो बालअधिकारका लागि सडकबाट कराउँथे, कसैले सुन्दैन थिए । अब त्यही आवाज संसद्भित्र गुञ्जाउँछु । मेरो आवाज अब सुनिनेछ भन्ने विश्वास लिएकी छु ।’ सन् २००० मा बन्दी सहायता नेपाल स्थापना गरेपछि उनको योगदानले चर्चा मात्र होइन, सम्मान पनि पाउन थालिन् । सन् २००५ मा उनले प्रतिष्ठित ‘अशोका फेलो’ पाइन् ।

विभिन्न दाता र शुभचिन्तकहरूले उनको सत्कर्मलाई साथ दिँदै आर्थिक सहयोग पनि गर्न थाले । पुरस्कार र सम्मानवापत पाएको सबै साधन स्रोत उनले व्यक्तिगत वा पारिवारिक स्वार्थमा कहिल्यै लगाउनु भएन । बाल संरक्षणको सञ्चालनमा सबै साधन र स्रोत खर्चिइन् ।

सन् २००९ मा उनले ‘एसिया जनसेवा’ अवार्ड पाइन् । सन् २०१४ मा उनले नोबेल पुरस्कार विजेता पाकिस्तानकी युसुफ मलाला र अमेरिकी जोन उडसँगै प्रतिष्ठित ‘वल्र्ड चिल्ड्रेन अनररी अवार्ड’ पाइन् । यी सम्मानहरूले उनको व्यक्तित्व अन्तर्राष्ट्रिय जगत्मा सुवासित भयो ।

सन् २०१७ मा बीबीसीले विश्वका सिर्जनशील महिलाहरूको सूचीमा नेपालकी इन्दिरा रानाको नाम समेट्यो । देशको ख्यातिलाई अन्तर्राष्ट्रिय मञ्चमा आलोकित बनाउनुहुने रानालाई उपसभामुखको पदमा पु¥याउनु भनेको सदनकै गरिमा बढाउनु हो भनेर आजकै संसद्मा उनको नाम प्रस्ताव गर्नुहुने रास्वपाकी सांसद् सोविता गौतमले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?