काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले आफ्नो पार्टीलाई प्रमुख विपक्षी दलको मान्यता माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो पार्टी प्रधानमन्त्रीलाई विश्वासको मत नदिनेहरुमध्ये सबैभन्दा ठूलो दल भएको उल्लेख गर्दै विपक्षी दलको मान्यता माग गरेका हुन् ।
यसैसम्बन्धि निवेदन संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम मार्फत सभामुखलाई दिएको जानकारी दिँदै उनले भने, ‘कानुन अनुसार नेमकिपालाई प्रमुख विपक्षी दल तोकिदिनुस् ।’
कांग्रेसले आफूलाई प्रमुख प्रतिपक्षी दलको रुपमा प्रस्तुत गरेकामा आपत्ती जनाउँदै उनले भने, ‘प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता नलिएसम्म कांग्रेसलाई प्रमुख विपक्षी दल भन्न मिल्दैन ।’
संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ बमोजिम आफूहरु प्रमुख विपक्षी दल भएको उनको दाबी थियो ।
गत ४ मंसिरमा सम्पन्न चुनावबाट संसदमा १२ वटा दलले प्रतिनिधित्व जनाएकामा दश दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका थिए ।
यसरी मत दिनेमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी छन् । यसैगरी केही स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका छन् ।
नेमकिपा र राष्ट्रिय जनमोर्चाले मात्रै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया