भ्रष्टाचार काण्डमा परेका ठूल्ठूला पदका व्यक्तिलाई जेल हालाैँ : सांसद शाही

लोकपथ
0
Shares

काठमाडौं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेपालमा पनि भ्रष्टाचार काण्डमा परेका ठूल्ठूला पदका व्यक्तिलाई सर्वश्वहरणसहित जेल चलान गर्न माग गरेका छन् ।

विश्वका विभिन्न मुलुकमा पूर्व राष्ट्रपति, पूर्वप्रधानमन्त्री, बहालवाला प्रधानमन्त्री वा उच्च ओहोदामा रहेकाहरुलाई पनि भ्रष्टाचारको काण्डमा सर्वश्वहरणसहित जेल गएको आफूले थाहा पाएको उल्लेख गर्दै नेपालमा पनि आफूले सो कुरा देख्न चाहेको उनको भनाई थियो ।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रष्टाचारको आवाज सदन, सडक, सामाजिक सञ्जाल सबैतिर सुनिए पनि कारबाही कहीँकतै नभएको भन्दै आपत्ति समेत जनाए । प्रमुख सचेतक शाहीले भ्रष्टाचारले गर्दा युवाहरुको भविष्य बर्बाद भएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउन पनि भ्रष्टाचारीहरुमाथि कडा कारबाही हुनुपर्ने बताए ।

उनले भने, ‘आज भ्रष्टाचारको फाईल अख्तियारको दराजमा धुलो लागेर थन्किएका छन । अख्तियार दूरुपयोग निवारण आयोगलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोग बनायौँ । तर, अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा अनुसन्धानमै सीमित रह्यो ।’

उनले ठूलाठूला भ्रष्टाचार काण्डका आवाज सडक तातिने, सदनमा सुनिने तर, भ्रष्टाचारीलाई कहीँकतै कारबाही भएको देख्न, सुन्न नपाइएको भन्दै आक्रोश व्यक्त गरे ।

उनले भने, भ्रष्टाचारका काण्डहरु हरेक दिन पत्रपत्रिका, सामाजिक सञ्जाल, अनलाईन मिडियाहरुमा हाम्रा र तपाईँहरुको मोबाइलमा भ्रष्टाचारका कुरा लेखिन्छन । र, छापिन्छन पनि । तर सम्बन्धित निकायले देखेर पनि नदेखेजस्तै कानमा तेल हालेर, आँखामा पट्टी बाँधेर बसेको छ । त्यसैले होला साना माछा मात्रै जालमा पर्ने, ठूल्ठूला माछा फुत्किने । यो कहिलेसम्म सभामुख महोदय ? हामीजस्ता तमाम नवजवान युवाहरु सिंगो मुलुकको भविष्य भ्रष्टाचारले गर्दा आज बर्बाद भएको छ ।’

उनले अन्य देशका पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री र बहालवाला प्रधानमन्त्री वा निकायवालाका उच्च ओहोदाका व्यक्तिहरुलाई भ्रष्टाचार काण्डमा सर्वश्वहरण गरी जेल गएको र कारबाही भएको जसरी नेपालमा पनि कारबाही हुनुपर्ने बताए ।

प्रमुख सचेतक शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारीलाई कारबाही गर्नुको साटो अनुसन्धान मात्रै गर्ने गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?