काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीको नेतृत्वमा एक टोली आज दादुरा–रुवेला प्रकोप फैलिएको बाँकेको नेपालगञ्ज जाने भएका छन् । दादुरा फैलिएको अवस्थाको अध्ययन तथा रोकथाम र नियन्त्रणको पहलका लागि मन्त्री गिरीसहितको टोली आज नेपालगञ्ज जान लागेको मन्त्रीका स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिए ।
मन्त्रीसँगै स्वास्थ्य सचिव डा.रोशन पोखरेलसहित मन्त्रालयका उच्च अधिकारी जान लागेका हुन् । गत पुस १३ गतेदेखि नेपालगञ्ज उपमहानगरपालिकामा फैलिएको दादुरा अहिले कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका र डुडुवा गाउँपालिकामा समेत फैलिएको छ ।
अहिलेसम्म नेपालगञ्जमा दई सय बालबालिका संक्रमित र एकको निधन भएको छ । यस्तै खजुरामा १८, कोहलपुरमा पाँच, नरैनापुरमा १५, डुडुवामा आठ बालबालिकामा दादुराको प्रकोप देखिएको छ । मन्त्रालयले दादुरा विरुद्धको खोप नलगाएकाले दादुरा–रुवेलाको प्रकोप फैलिएको जनाएको छ ।
मन्त्रालयले पुस २२ गतेदेखि प्रकोप फैलिएका ठाउँमा छ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुराविरुद्धको खोप लगाइरहेको छ । अहिलेसम्म ४२ हजार नौ सय ७८ बालबालिकालाई खोप लगाउनुपर्नेमा लक्ष्यभन्दा बढी ४४ हजार चार सय दुईजनालाई खोप लगाइसकेको मन्त्रालयको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।
सरकारले सन् २०२३ सम्म नेपाललाई दादुरा निवारण गर्ने लक्ष्य लिएको छ । अहिले बाँकेको नेपालगञ्जमा दादुरा देखिएकाले चुनौती थपिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया