काठमाडौं । सरकारले उखुको मूल्य वृद्धि गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा उखुको नयाँ बिक्री मूल्य निर्धारण गरेको हो । उद्योग मन्त्रालयको सिफारिसमा तोकिएको नयाँ मूल्यमा गत वर्षको भन्दा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरिएको छ ।
यो वर्षको उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकिएको छ । यस्तै, ढुवानीका लागि ७० रुपैयाँ सरकारले अनुदान दिने निर्णय भएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ तोकेको थियो ।
ढुवानी वापतको अनुदान रकम ७० रुपैयाँ नै कायम गरेर कुल मूल्य ५९० रुपैयाँ प्रति मेट्रिकटन बनाएको थियो । अहिले भने सरकारले उखुको न्यूनतम मूल्य नै क्विन्टलमा २० रुपैयाँले वृद्धि गरेर नयाँ मूल्य तोकेको हो । सरकारले यसअघि आर्थिक वर्ष (आव) ०७७÷७८ मा उखुको बिक्री मूल्य ५४४ रुपैयाँ ३३ पैसा तोकेको थियो ।
कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलकाअनुसार उत्पादन लागतमा २० प्रतिशत नाफा किसानलाई निश्चित गरेर नयाँ मूल्य तोकिएको हो । उनकाअनुसार ५४० रुपैयाँ क्विन्टलमा उद्योगीले अब किसानसँग उखु किन्नु पर्नेछ । बाँकी ७० रुपैयाँ भने किसानलाई सरकारले दिएको अनुदान हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया