लुम्बिनीको सभामुखमा माओवादीका घर्ती निर्विरोध निर्वाचित

लोकपथ
0
Shares

रूपन्देही । लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । सोमबार प्रदेशसभा सचिवालयमा घर्तीको एकल उम्मेदवारी दर्ता भएपछि निर्विरोध भएका हुन् । उपसभामुखमा भने तीन जनाको उम्मेदवारी दर्ता भएको छ ।

लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनका अनुसार सभामुखमा माओवादीबाट तुलाराम घर्तीको र उपसभामुखमा राप्रपाबाट मेनुका खाँण केसी, कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चौधरीको उम्मेदवारी दर्ता भएको छ ।

उपसभामुखका उम्मेदवार नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित विश्वप्रेम पाठकको प्रतावकमा कांग्रेसका प्रदेशसभा सदस्य वसीउद्दिन खाँ र समर्थकमा राजु खनाल छन् । यस्तै राप्रपाकी उम्मेदवार खाँणको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री इन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गाप्ता छन् ।

त्यस्तै नागरिक उन्मुक्तिकी चौधरीको प्रस्तावकमा सोही पार्टीकै प्रदेश सभा सदस्य नरमाया ढकाल र समर्थकमा संसदीय दलका नेता धर्मबहादुर चौधरी रहेका छन् । सत्तापक्षीय गठबन्धनमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री एमाले, सभामुख माओवादी र उपसभामुख राप्रपाले लिने गरी सहमती भएको थियो ।

त्यही सहमती अनुसार एमालेका लिला गिरी मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । सभामुखका उम्मेदवार घर्तीको प्रस्तावमा एमाले नेता एवं प्रदेशसभा सदस्य भूमिश्वर ढकाल र समर्थकमा राप्रपाका संसदीय दलका नेता आशिषकुमार चौधरी रहेका छन् । सत्तापक्षीय गठबन्धनमा रहेर मुख्यमन्त्रीमा गिरीलाई समर्थन गरेको उन्मुक्ति पार्टीले छुट्टै उम्मेदवारी दिएको छ ।

उक्त पार्टीले सरकारमा कम्तीमा दुई मन्त्रालयमा दाबी गर्दै आएको छ । गठबन्धनले एक मन्त्रालय मात्र दिने तयारी गरेपछि उन्मुक्तिले उपसभामुखमा उम्मेदवारी दिएको हो ।

सत्तापक्षीय गठबन्धनमा एमालेका २९, माओवादीका १०, राप्रपाका ४, जसपा, लोसपा र जनमतका ३/३ प्रदेश सभा सदस्य छ । त्यस्तै स्वतन्त्र दुई सदस्य छन् । ८७ सदस्यीय प्रदेश सभामा नागरिक उन्मुक्तिबाहेक पनि सत्तापक्षीय गठबन्धनमा ५१ सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?