‘जाँचबुझ समितिले सरकारलाई बुझाएका प्रतिवेदनहरुको कार्यान्वयनमा हेलचेक्र्याईं नगरौँ’

लोकपथ
28
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आइतबार भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै जाँचबुझ समितिले सरकारलाई बुझाएका प्रतिवेदनहरुको कार्यान्वयनमा हेलचेक्र्याईं गर्न नहुने बताएका छन् ।

उपमहासचिव रिमालले हरेक पटक विमान दुर्घटनापछि जाँचबुझ समिति बनाइएक पनि समितिले बुझाएका प्रतिवेदनहरुको कार्यान्वयन हुन नसक्दा यस किसिमका दुर्घटनाहरु भइरहेको बताएका हुन् । उनले अब पनि विज्ञहरुले बुझाएको प्रतिवेदनको कार्यान्वयन नगर्ने हो भने सर्वसाधारणहरु विमानमा चढ्दा मर्छु की बाँच्छु भन्ने स्थितिका बीच यात्रा गर्न बाध्य हुने बताए ।

सोमबार सो विषयमा कुराकानी गर्दै उपमहासचिव रिमालले जाँचबुझ समितिले निकालेको निस्कर्षप्रति सरकार र सम्बन्धित निकायहरु कति इमान्दार छन् भन्ने प्रश्न आम मानिसमा रहेको बताए । उनले सरकार र सम्बन्धित निकायहरुले विज्ञहरुले बुझाएको प्रतिवेदन अव्यवहारिक र गलत भए भन्न सक्नुपर्ने तर प्रतिवेदन बुझेर कार्यान्वयन गर्ने नभइ थन्क्याएर राख्ने परम्पराको अन्त्य हुन आवश्यक रहेको बताए । उनले दिएका रिपोर्ट कति अवलम्वन गरिए भन्ने सन्दर्भमा जनताले प्रश्न उठाइरहेको भन्दै यसको सम्बोधन गर्ने बेला भइसकेको बताए । उपमहासचिव रिमालले सम्बन्धित निकायले जाँचबुझ समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन नगर्ने हो भने अन्तर्राष्ट्रिय स्तरमा पनि बदनाम हुने बताए ।
उनले भने, ‘अकल्पनीय घटना भएको छ । आन्तरिक विमान दुर्घटनामा यति ठूलो क्षति भएको पहिलो पटक हो । गन्तव्यमा पुगिसकेपछि दुर्घटना भएको देखिएको छ । यसका दुई वटा कुरा हुन्छन्, एउटा मानवीय, प्रविधिक पक्ष, अर्को प्राकृतिक पक्ष हुन्छ । हिजोको दुर्घटना प्राकृतिक र प्राविधिक पक्ष भएको देखिँदैन । मौसम ठिक भएको र ल्याण्ड गर्नलाई ठिक्क परेको बेलामा दुर्घटना भएको देखिन्छ । हामी हामीले निकालेको निस्कर्षप्रति कति इमान्दार छौँ भन्ने प्रश्न अहिले व्याप्त रुपमा उठेको छ । हामी जो कोही सरकारमा हौँ, जो कोहीले मन्त्रालय सम्हालीरहेका हौँ, प्राविधिकहरुले दिएको रिपोर्ट यति अव्यवहारिक र गलत छ भने त्यसलाई गलत भयो मिलेन भन्न सक्नुपर्छ । त्यो पनि आएको पाइँदैन । दिएका रिपोर्ट कति अवलम्वन गरिए भन्ने सन्दर्भमा प्रश्नचिन्ह नै छ । यो प्रश्नले आम जनतामा बेलाबेला निराशा र एक किसिमको दिग्दारीपना देखिन्छ । यसलाई सम्बोधन गर्ने बेला आएको छ । यति धेरै मानिसको क्षति भइसकेपछि र भौतिक क्षति भइसकेपछि यस्तो अवस्थामा हामीले अब बनाइएको आयोगले दिएका रिपोर्टहरु सार्वजनिक गरुन् नगरुन् ठूलो कुरा भएन । सम्बन्धित निकायले यसलाई कार्यान्वयन गर्ने हो भने रिपोर्टमा उल्लेख गरेका विषयहरुलाई ख्याल गर्नुपर्छ । त्यसो नगर्दा अन्तर्राष्ट्रिय स्तरमा पनि बदनाम हुने र राष्ट्रिय रुपमा पनि सबै व्यक्तिहरु एक ठाउँबाट उडेर अर्को ठाउँमा जाँदा सकुशल फर्किन्छु की फर्किन्न भन्ने स्थिति आउने हुन जाने भयो, यसलाई अब सम्बोधन गर्ने बेला आयो ।’

काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिककमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?