नयाँ राजदूतलाई थप प्रशिक्षण !

काठमाडौँ–पूर्वराजदूतहरूले नयाँ नियुक्त हुने राजदूतहरुलाई सम्बन्धित देशको कानुन, सामाजिक संरचना तथा कूटनीतिक मर्यादका विषयमा कम्तीमा एक महिना प्रशिक्षण दिने व्यवस्था गर्न सुझाव दिएका छन् ।
हाल परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले एक साताको प्रशिक्षण दिने गरे पनि अपूर्ण भएको पूर्वराजदूतहरूको भनाइ छ । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

राजदूत नियुक्तिपूर्वको मापदण्ड र नियुक्ति भइसकेपछिको राजदूतको भूमिकाबारे संसदीय सुनुवाइ समितिमा आफ्ना धारणा राख्दै पूर्वराजदूतहरूले उत्तरदायित्व र जिम्मेवारीका हिसाबले देशकै प्रतिनिधित्व गर्ने व्यक्ति भएकाले छनोटमा नै ध्यान दिनुपर्ने सुझाव दिएका हुन् ।
 समितिले पहिलोपटक प्रस्तावित राजदूतको संसदीय सुनुवाइको पूर्वसन्ध्यामा राजदूतको भूमिकाबारे विज्ञसँग परामर्श गरेको हो । यस्तै, समितिले केही समयअघि परराष्ट्र मन्त्रालयले तय गरेको मापदण्डबारे पनि धारणा सुनेको थियो ।
छलफलमा पूर्वराजदूत रामभक्त पीबी ठाकुरले राजदूतलाई हाल दिने गरिएको तालिम अपर्याप्त भएको भन्दै कम्तीमा एक महिना तालिमको व्यवस्था गर्न उपयुक्त हुने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?