काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गरेका छन् ।
पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालप्रति औंल्याउँदै महामन्त्री थापाले मंसिर ४ गतेको निर्वाचनपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने, ढाल्ने कुरामा मात्रै केन्द्रित भएको जिकिर समेत गरे ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’ को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले पूर्वप्रधानमन्त्रीहरुबीचको झेलबाट मुलुकलाई जोगाउन आफूले २/४ दिन भएपनि मुलुकको नेतृत्व गर्नका लागि प्रधानमन्त्री बन्छु भनेर निर्वाचनको बेला भनेको समेत स्मरण गराए ।
महामन्त्री थापाले आफ्नो दलमा पूर्व प्रधानमन्त्रीहरुले आफ्नो अकन्टक नेतृत्व रहने गरी सदस्यता वितरण गरेकाले यसबाट मुक्ति पाउने विषयमा विचार गर्नुपर्ने धारणा समेत राखे । उनले भने, ‘नेपालको राजनीतिक कस्तो भयो भने तीन जना भूतपूर्व प्रधानमन्त्रीहरुको अखडा जस्तो भयो । कुन चाँही भूतपूर्व प्रधानमन्त्रीले कुन चाँही भूतपूर्व प्रधानमन्त्रीलाई झुकाउनु भयो ? आईतबार फलानोले झुकाउनु भएको थियो । सोमबार अर्कोले ठहरै पार्नुभयो । अहिले तपाईहरु सबैको मनमा के छ ? कुन चाँही भूतपूर्वले कुन चाँही भूतपूर्व प्रधानमन्त्रीलाई झुक्याई राखेको होला । अस्ती सरकारलाई भोट किन हालेको होला ।
यो कुरा कसको मनमा छैन अहिले । तीन जना भूतपूर्व प्रधानमन्त्रीहरु त्यो एउटा अखडाभित्र कसले कसलाई छक्याउने, कसले कसलाई ढाल्ने, तीन वटा प्रधानमन्त्रीको क्लब जस्तो । मैले अस्ती निर्वाचनको बेलामा भनेको थिए–मलाई निर्वाचित गराएर पठाउनु भयो भने कम्तिमा तीन वटा प्रधानमन्त्रीहरुको खेलको बीचमा ३/४ दिन भएपनि सकूला, नसकूला मेरो ठाउँमा छ । तर, म तीन जना पूर्वप्रधानमन्त्रीहरु बीचको भएको खेल, झेल वा यो कुराहरुभन्दा फरक प्रसंगमा २/४ दिन भएपनि मुलुकलाई डोहो¥याउने प्रयास गर्छु ।’
उनले मंसिर ४ गतेबाट यहाँसम्म आईपुग्दा कुन चाँही भूतपूर्व प्रधानमन्त्रीले कुन चाँही भूतपूर्व प्रधानमन्त्रीलाई फल हान्नु भयो भन्ने बाहेक हामीले पढेको, सुनेको, बुझाएको समाचार सुन्नै नपरेको बताए । महामन्त्री थापाले नेपालको राजनीतिलाई सही ठाउँमा ल्याउन संसदमा सबै राजनीतिक दलका सांसदहरुले मिलेर बहसलाई अघि बढाउनुपर्ने प्रस्ताव समेत राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया