मधेश प्रदेश सभाको सभामुखमा मण्डल र रायले दिए उम्मेदवारी

लोकपथ
0
Shares

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा नेकपा (एमाले) बाट रामचन्द्र मण्डल र नेपाली कांग्रेसका जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता साझेदार दलको भागबण्डामा मधेशको सभामुख नेकपा (एमाले) र उपसभामुख जनमत पार्टीले लिने सहमति भएको थियो ।

सोही अनुसार मण्डलले उम्मेदवारी दिएका हुन् । त्यस्तै, नेपाली कांग्रेसका जंगीलाल रायले सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन् । रायलाई एकीकृत समाजवादीले समर्थन गरेको छ । एमालेका मण्डललाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी बाहेकका अरु राजनीतिक दलले समर्थन गरेका छन् ।

प्रदेशसभामा २३ सांसदसहित नेकपा एमाले पहिलो, २२ सांसदसहित नेपाली कांग्रेस दोस्रो र १६ सांसदसहित जनता समाजवादी पार्टी (जसपा) तेस्रो र १३ सांसदसहित जनमत पार्टी चौथो दल छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीको ७ सांसद छन् ।

नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १/१ जना सांसद छन् । यस्तै पाँचजना स्वतन्त्र सांसद छन् । सभामुख चयनका लागि माघ २ गते मतदान हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?