रथी बढुवामा अन्योल, यी उपरथीले पाउँदैछन् अवकास

काठमाडौं- सेनामा रिक्त रथीमा बढुवा प्रक्रिया अघि नबढ्दा अन्योल सिर्जना भएको छ। बलाधिकृत रथीमा हेमन्त कुँवर छन् भने बलाध्यक्ष रथी झण्डै ३ महिनादेखि रिक्त छ। अहिले बलाध्यक्षको जिम्मेवारी समेत कुँवरले सम्हालेका छन। प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्ति भएदेखि बलाध्यक्ष रथी खाली छ। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ ।

पदका एकमात्र दावेदार उपरथी अनुजबहादुर बस्न्यातको बढुवाका लागि सैनिक मुख्यालयले सिफारिस गरेको छैन। बढुवा नभए उनले ४ दिनपछि अवकास पाउनेछन्। सैनिक सेवा नियमावलीअनुसार रथीका लागि प्रधानसेनापति अध्यक्ष र वरिष्ठतम रथी सम्मिलित बढुवा समिति रहने व्यवस्था छ। स्रोतका अनुसार बढुवा सिफारिसका लागि मुख्यालयले बढुवा समितिसमेत बनाएको छैन।

सैनिक मुख्यालयले न बस्न्यातको बढुवा सिफारिस गरेको छ न त बढुवा नहुनु पर्ने कुनै कारण दिएको छ। ‘उपरथी बस्न्यातको बढुवा नभए, त्यसको कारणसहित सैनिक नेतृत्वले जवाफ दिनुपर्छ’ सैनिक मुख्यालयका एक सैनिक अधिकारीले भने, ‘उनको गल्ती भए कारवाही होस्। तर अपारदर्शी ढंगले संगठनलाई बिलखबन्दमा पार्नु हुँदैन।’

प्रधानसेनापति थापा उपरथी बस्न्यातलाई कुनै हालतमा बढुवा नदिने पक्षमा रहेको स्रोतले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?