काठमाडौं । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २३ औँ राष्ट्रिय महाविधेशन फागुनमा हुने भएको छ । अनेरास्ववियुका महासचिव समिक बडालले आगामी फागुन २ देखि ४ गतेसम्म महाअधिवेशन गर्ने निर्णय गरिएकोे जानकारी दिए ।
अनेरास्ववियुको यसअघि २०७२ मा २२ औं राष्ट्रिय अधिवेशन भएको थियो । नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताभएपछि अखिलको अधिवेशन हुन सकेको थिएन । महाअधिवेशनअघि माघ १५ गतेभित्र अधिवेशन हुन बाँकी भएका कमिटीको अधिवेशन गर्न भनिएको छ ।
महाधिवेशनका लागि माघ २५ गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गरी केन्द्रमा पठाउनसमेत भनिएको छ । माघ २० गते स्ववियु निर्वाचन सम्पन्न भएका कमिटी, माघ २१ गते देशभरिका जिल्ला कमिटी तथा माघ २३ गते प्रदेश कमिटी, विश्वविद्यालय राष्ट्रिय कमिटी, केन्द्रीय सम्पर्क कमिटी र प्रदेश सम्पर्क कमिटीबाट प्रतिनिधि छनोट गरिने महासचिव बडालले जानकारी दिए ।
महाधिवेशनका लागि अखिलका अध्यक्ष सुनिता बरालको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव बडालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति र कोषाध्यक्ष जेनिश लामाको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । यही पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न भएको एमालेका जनसङ्गठनको भेलाले राष्ट्रिय अधिवेशन/सम्मेलन चैत मसान्तभित्र गर्ने निर्णय गरेको थियो ।
उनका अनुसार अधिवेशनले १७ पदाधिकारीसहित एक सय ९९ सदस्यीय कमिटी चयन गरिनेछ । अधिवेशन काठमाडौंमा हुने जनाइएको छ । यस्तै अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सातौँ राष्ट्रिय सम्मेलन आगामी चैत २४ र २५ गते गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा भएको अनेमसङ्घको सचिवालयको बैठकले सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको अनेमसङ्घका सचिवालय सदस्य सदीक्षा चौहानले जानकारी दिइन् ।
यस्तै अनेरास्ववियु र अखिल नेपाल महिला सङ्घसहित राष्ट्रिय युवा सङ्घ, अखिल नेपाल किसान महासङ्घ, पेसागत महासङ्घ नेपाल, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल, नेपाल खेलकुद महासङ्घ र रिटर्नी फेडरेसन नेपाल गरी आठ जनवर्गीय सङ्गठनको राष्ट्रिय अधिवेशन गर्न बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया