सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाभित्र उत्पादन भएको फोहोर उचित व्यवस्थापन नगर्दा जताततै दुर्गन्ध फैलिएको छ । स्थानीय सरकार स्वायत्त शासन सञ्चालन ऐनअनुसार स्थानीय सरकारले फोहोर व्यवस्थापन गर्न डम्पिङ नभई ल्याण्डफिल साइट बनाउनुपर्ने भए पनि नगरपालिकाले कालीन्जोर खोला किनारमा लगेर फोहोर थुपारी आगो लगाउँदा स्थानीयलाई असर गरेको सुनिलकुमार साहले बताए ।
ग्रिन एण्ड क्लिन सिटी सर्भिस प्रालि लालबन्दीले बजारमा उत्पादन भएको फोहोर उठाएर नगरपालिकाले तोकेको क्षेत्रमा फाल्छ । खुला स्थानमा लगेर फालिएको फोहोर जङ्गली जनावरका साथै चराचुरुङ्गीले टिपेर र हावाले उडाएर अन्यन्त्र लैजाने गरेको अर्का स्थानीय राजन पोख्रेलले बताए । उनका अनुसार फोहोर थुपारेपछि आगो लगाउनाले बजारलाई असर पुग्छ ।
सात वर्ष पहिला नै नगरपालिकाले ल्याण्डफिल साइटको रुपमा कालीन्जोर नदी किनारको भाग बनाएको र आफूले त्यही लगेर फोहोर फाल्ने गरेको ठेकेदार कम्पनी ग्रिन एण्ड क्लिन सिटी सर्भिस प्रालि लालबन्दीका सञ्चालक माधव बरालले बताए । नदी किनारमा फोहोर र डम्पिङ गर्ने र चार/पाँच दिनमा फोहोरलाई आगो लगाउने गरिन्छ ।
त्यतिञ्जेल फोहोर यत्रतत्र पुग्ने गर्दा सो क्षेत्र दुर्गन्धित भएको स्थानीय उमाशङ्कर साहले बताए । नगरपालिकाले विशुद्ध परम्परागतरुपमा फोहोरलाई व्यवस्थापन गर्ने गरेको छ । अबको पहिलो चरणमा फोहोरलाई खाल्डो बनाएर पुर्ने काम गर्ने र विस्तारै ल्याण्डफिल साइट निर्माण गरी सोही स्थानमा फोहर व्यावस्थापन गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले बताए ।
उनले तत्काल कुनै व्यवस्थापन गर्न सक्ने अवस्था नरहे पनि आज लगेको फोहोर आजै खाल्डो बनाएर पुर्ने काम हुने बताए । अहिले वातावरणसमेत प्रदूषित भएको छ । कतिपयले आफूखुसी फोहर फ्याँक्ने काम गर्दा फोहोर जताततै देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया