काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार हुन अझै १० देखि १५ दिन लाग्न सक्ने संकेत गरेका छन् ।
अध्यक्ष ओलीले खेलकुदमन्त्री हाल नभएको प्रसंग उल्लेख गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्न सक्ने बताएका हुन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सरकारलाई आग्रहसमेत गरे ।
उनले खेलाडीहरुले खेलकुद क्षेत्रको विकासमा राम्ररी ध्यान देओस् भन्ने चाहेको उल्लेख गर्दै उनीहरुको माग सरकारसमक्ष पुर्याउन आफू लागिपर्ने आश्वासनसमेत दिए । नयाँ खेलकुद मन्त्रीलाई पनि आफूले खेल क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्ने अध्यक्ष ओलीको भनाइ थियो ।
उनले बालबालिकाहरुलाई उचित संरक्षण गरेर सफल बनाउन पनि सरकार लाग्नुपर्ने आवश्यक्ता औंल्याए । अध्यक्ष ओलीले प्रतिकूल परिस्थितिलाई अनुकूल बनाएर अघि बढेका कारण पेले विश्वका सर्वाधिक लोकप्रिय फुटबल खेलाडी भएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाली खेलाडीहरुले पनि आफूलाई अगाडि बढाउनुपर्ने धारणा राखे । त्यस अवसरमा उनले सो एकेडेमीलाई अक्षय कोष स्थापना गर्न ढिलाई नगर्न आग्रह गर्दै आफूले २ लाख नगद राशी सहयोग गर्ने घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया