काठमाडौं । मिलिजुली सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपतिले दलहरुलाई दिएको समय आज सकिंदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिमको सरकार गठनका लागि दिएको समय आज साँझ पाँच बजे सकिंदै छ । राष्ट्रपति भण्डारीले यही पुस ३ गते सूचना जारी गर्दै सात दिनभित्र सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।
संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभामा एउटै दलको बहुमत नभएपछि राष्ट्रपतिले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सात दिनको समय दिएकी हुन् ।
यता, दाबी पेश गर्ने समय घर्किँदै जाँदा दलहरुमा भने को प्रधानमन्त्री बन्ने भन्ने सहमति अझै बन्न सकेको छैन । सत्ता गठबन्धनबीच २–२–१ वर्ष बाँडेर प्रधानमन्त्री खाने सहमति भए पनि पहिलो प्रधानमन्त्री को बन्ने भन्नेमा विवाद छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मध्ये को पहिले प्रधानमन्त्री बन्ने भन्ने सहमति हुन नसकेको हो । पछिल्लो एक वर्षको कार्यकाल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउन भने उनीहरुबीच सहमति छ ।
शनिबार दिनभरको प्रयास सफल नभएपछि आज विहानैदेखि गठबन्धन दलका नेताहरु सहमति जुटाउन गृहकार्यमा छन् । माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुले प्रचण्डलाई प्रधानमन्त्री नस्वीकार्ने हो भने वर्तमान गठबन्धन तोडिने चेतावनी दिएपछि कांग्रेस सभापति देउवा दबाबमा परेका छन् ।
संसदमा दोस्रो ठूलो दल रहेको नेकपा एमालेले सरकार गठनको औपचारिक पहल थालेको नदेखाए पनि भित्रभित्रै गठबन्धन तोडाएर आफ्नो अनुकूलको सरकार बनाउन खोजेको छ । उक्त दलका अध्यक्ष केपी ओलीले त देश नयाँ सरकार गठन नहुँदै देश मध्यावधिमा जाने भविश्यवाणी गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया