काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वसभामुख रामचन्द्र पौडेल जापान सरकारद्वारा दिइने राजकीय सम्मानबाट विभूषित भएपछि आयोजित कार्यक्रममा सहभागी थिए । सो अवसरमा प्रधानमन्त्री देउवाले वरिष्ठ नेता पौडेललाई जापान सरकारले प्रदान गरेको ‘अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित भएको बधाई ज्ञापन गर्दै उक्त सम्मान देशले नै पाएको अनुभूति भएको बताएका छन्।
यस्तै वरिष्ठ नेता पौडेलले यो सम्मानका लागि जापानी जनता, सरकार, त्यहाँका सम्राट र राजदूतप्रति आभार व्यक्त गर्दै यो सम्मान नेपाल, नेपाली र कांग्रेसप्रतिको सम्मान भएको महसुस गरेको बताए ।
सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान वरिष्ठ नेता पौडेललाई आज जापानी राजदूतको निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको हो । वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्वसभामुखको हैसियतमा दुई देशबीचका संसदीय सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गरेको योगदानका लागि विभूषित गरिएको जनाइएको छ । जापानी सम्राट मेइजीले शुरु गरेको सो राजकीय सम्मान विश्वका विशिष्ट व्यक्तिलाई प्रदान गरिने सबैभन्दा उच्च सम्मान हो ।
वरिष्ठ नेता पौडेलले आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापानमैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलो अध्यक्षसमेत रहेका थिए। उनी सन् २०१७ सम्म लिगको नेतृत्वमा रहनुका साथै द्विपक्षीय सम्बन्धको प्रर्वधनमा पनि सक्रियरूपमा संलग्न थिए ।
सो कार्यक्रममा मन्त्रीहरु, नेपाली कांग्रेसका नेताहरु, सांसद एवम् समाजका विभिन्न क्षेत्रका व्यक्तीहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया