निर्मला बलात्कारपछि हत्या प्रकरण : शंकास्पद मानिएका ४ जनाको डीएनए रिपोर्ट ‘नेगेटिभ’

कञ्चनपुर । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकारणमा  शंकास्पद मानिएका ४ जनाको डीएनए रिपोर्ट ‘नेगेटिभ’ आएको छ । 

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले कात्तिक दोस्रो साता शंकास्पद मानिएका ४ जनाको डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । 

शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा डीएनएको गोप्य रिपोर्ट खोलिएको थियो । उक्त रिपोर्ट ‘नेगेटिभ’ नभएको र निर्मलाको ‘भजाइनल स्वाव’सँग मेल नखाएको कञ्चनपुरका  प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णराज ओझाले बताए ।

शंकास्पद चार जनै स्थानीय हुन् । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

कञ्चनपुर प्रहरीले यसअघि स्थानीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो । तर, उनको डीएनए पनि निर्मलाको भजाइनल स्वावसँग मेल नखाएपछि उनलाई हिरासतबाट छोडिएको थियो ।

निर्मला बलात्कारपछि हत्या भएता तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट (हाल बर्खास्त), उनका छोरा किरण, भिमदत्त नगरपालिकाका मेयरका भतिजा आयुष विष्ट र चक्र बडुको समेत डीएनए परीक्षण गरिएको थियो । तर, सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

त्यस्तै न्यायको माग गर्दै गत कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी निर्मलाका आमा दुर्गादेवी पन्त र बुबा यज्ञराज पन्त अनिश्चितकालीन धर्नामा बसेका छन् । 
निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । 

पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबाआमाको स्वास्थ्य नाजुक बन्दै गएको हो । बुबा यज्ञराजलाई ज्वरो आउनुका साथै रुखा खोकी लागेको र हातखुट्टा दुख्ने समस्या देखा परेको छ । दुर्गालाई समेत ज्वरो आएको र रक्तचाप घटेको छ । 

त्यस्तै उपचारका लागि महाकाली अञ्चल अस्पतालका चिकित्सक किशोर बोहराले दुवैको चिसोका कारण स्वास्थ्य बिगँ्रदै गएको बताए । निर्मलाकी कान्छी आमा लक्ष्मी पन्तको समेत रक्तचाप बढेको पाइएको छ । 

यज्ञराजले छोरीका हत्यारा पत्ता नलाग्दासम्म र न्याय नपाउँदासम्म धर्ना जारी रहने बताए  । 

निर्मला हत्याको ११४ दिन बितिसकेको छ । तर, अझै प्रहरी निर्मलाको हत्यारा पत्ता लागाउन सकेको छैन । 

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको र भोलिपल्ट बिहान उखुबारीमा  उनको शब भेटिएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?