काठमाडौं । उच्च अदालत पाटनले आज अनलाइन मिडिया नियमनका विषयमा प्रेस काउन्सिल नेपालका पक्षमा फैसला गरेको छ । काउन्सिलले पत्रकार आचारसंहिता बमोजिम ‘नेपाल आज डटकम अनलाइन’ लाई सूचीकरणबाट हटाउने गरी गरेको कारबाहीमाथि दायर रिट निवेदनको अन्तिम फैसला गर्दै उच्च अदालत पाटनले नेपाल आजको रिट नै खारेज गरिदिएको छ ।
आचारसंहिता विपरीत कार्य गरेपछि कालोसूचीमा राख्दै सूचीकरणबाट समेत हटाउने काउन्सिलको निर्णयविरुद्ध ‘नेपाल आज डटकमका’ सञ्चालक माधवप्रसाद गुरागाईंले रिट दायर गर्नुभएको थियो । पाठकमा भ्रम पैदा गरेको, काउन्सिलको निर्देशन अटेर गर्दै आचारसंहिता उल्लङ्घन गरेको भन्दै काउन्सिलले उक्त अनलाइनलाई सूचीकरणबाटै हटाएको थियो ।
काउन्सिलको निर्णय रोक्न अन्तरिम आदेश माग गर्दै नेपाल आजले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले गत असार ६ गते अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । फैसलाअघि अदालतले निर्णयका सक्कल मिसिल माग गरी अध्ययनसमेत गरेको थियो ।
उक्त मुद्दा आज पेसी तोकिएकामा न्यायाधीशद्वय राजेन्द्र खरेल र किरणकुमार पोखरेलको संयुक्त इजलासबाट रिट खारेज हुने फैसला भएको हो । यस फैसलासँगै काउन्सिललाई अनलाइन र न्यू मिडियाका लागि नियमन र अनुगमनको पाटो थप स्पष्ट भएको छ ।
फैसलाको पूर्णपाठ आउन केही समय लाग्ने जनाइएको छ । सो मुद्दामा काउन्सिलको तर्फबाट अदालतमा अधिवक्ता अनन्तराज लुइँटेल, झविन्द्र भुसाल र प्रतिभा उप्रेतीले बहस गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया