तिहारले दियो तनाव, किनमेलको मौकाछोपि एकै दिन ६ स्थानमा चोरी

काठमाडौं । तिहारको किनमेल गर्न गएको मौकाछोपि काठमाडौंका विभिन्न स्थानबाट करिब ६ लाख पाँच हजार रुपैयाँ मूल्य बराबरको धनमाल चोरी भएको छ । 

काठमाडौं महानगरपालिका ३२ सोल्टीमोड डेरा गरी बस्ने ओखलढुंगा गमनटारका लोकेन्द्र मगर र राजकुमार कोठाबाट आज दिउसो सुनका तथा चाँदीका गहना र नगद ११ हजार ८ सय गरी करिब एक लाख ३६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । 

यसैगरी, काठमाडौं महानगरपालिका ११ बबरमहलमा डेरा गरी बस्ने ३८ वर्षीया रमिला थापामगरको कोठाबाट सुनका गहना, मोबाईल एक थान र नगद ५ हजार समेत गरी करिब १ लाख ११ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार, पेप्सीकोलामा डेरा गरी बस्ने दोलखाका २६ वर्षीया देवीमाया फुयाँलको र रसुवा उत्तरगया गाउँपालिका ३ की अमृता गरुङको छुट्टाछुट्टै कोठाबाट नगद र सुनका गहना गरी करिब २ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । 

त्यस्तैं, काठमाडौं महानगरपालिका ३१ जागृतिनगरस्थित डेरा गरी बस्ने खोटाङ्ग बराह पोखरी ३ घर भएकी शान्तिमाया मगरको कोठाबाट ल्यापटप १ थान र नगद ६० हजार रुपैयाँ समेत गरी करिब १ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको जानकारी प्रहरीले दिएको छ । 

प्रहरीले दिउँसोको समयमा भएको उक्त श्रृडखलावद्ध चोरी घटनामा फरार चोरहरुको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान भइ रहेको जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?