आज तिहारको पहिलो दिन : कागको पूजा गरि मनाइँदै

काठमाडौं । हिन्दूहरुको दास्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजबाट शुरु भएको छ । 

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक (तिहार) मनाइन्छ । 

तिहारको पहिलो दिन आज काग तिहार । कागको पूजा गरी मनाइँदै छ ।

आज कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । 

कागलाई यमदूत र प्रकृतिको कुचिकार पनि भनिन्छ ।

आज (सोमबार) बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवलाई पूजा गर्ने भक्तजनको भीड लाग्छ । साथै आजै बेलुकादेखि घरघरमा परिवार संख्याका आधारमा यमदीप दान गर्ने विधि छ । 

यमपञ्चकको दोस्रो दिन कुकर तिहार र तेस्रो दिन लक्ष्मी पूजा गरिन्छ । 

चौथो दिन गोबर्द्धन पूजा गरेपछि पाँचौं दिन भाइटीका लगाइन्छ ।

यस वर्षको भाइटीकाको साइत कात्तिक २३ गते शुक्रबार मध्याहृन ११ः५५ बजे उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । 

यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो ।

यही दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ । 

यसै दिन साँझमा मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । 

त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । 

पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?