यस्तो छ ‘तिहार’ विशेष सुरक्षा योजना–जुवातास र पटाका विरुद्ध कडाइ

काठमाडौँ । काठमाडौं उपत्यकामा राति १० बजेपछि देउसी–भैलो खेल्न प्रतिबन्ध लगाइएको छ । 

उपत्यकाका तीन जिल्ला ललितपुर, भक्तपर र काठमाडौंमा राति १० बजेपछि देउसी–भैलो खेल्न र खेलाउन नपाउने जानकारी महानगरीय प्रहरी दिएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार, शान्तिसुरक्षाको कारण देखाउदै काठमाडौं उपत्यकामा देउसी–भैलो राति १० बजेसम्मलाई तय गरिएको हो । 

यही महिनाको १९ गते सोमवारबाट तिहार पर्व शुरु हुँदै छ । काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोवद्र्धन पूजा र भाइटिका गरी तिहार पाँच दिनसम्म धुमधामका साथ मनाइने गरिन्छ । 
लक्ष्मीपूजाको दिनदेखि भाइटिकासम्म मनोरञ्जनका साथै आर्थिक संकलन गर्न देउसी–भैलो खेल्ने परम्परा रहेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार लामाले देउसी–भैलो कार्यक्रमहरु रमाइलोका लागि भन्दा आर्थिक संकलनप्रति बढी लक्षित हुने भएकाले १० वजेपछि प्रतिवन्ध गरिएको बताए । 

राति–राति देउसी भैलो खेल्नेहरुमाथि नै खतरा हुन नदिन राति १० वजेसम्मलाई कायम गरिएको उनले प्रष्ट पारे । 

तिहारमा हुन सक्ने सम्भावित अपराध तथा दुर्घटना नियन्त्रण गर्न वडादशै अघि नै विशेष सुरक्षा योजना लागू भइसकेकाले सोही अनुरुप सुरक्षाव्यवस्था मिलाइएको छ । 

जुवातास विरुद्ध गोप्य अप्रेसन

मदिरा सेवन गरी हो–हल्ला तथा झैझगडा गर्ने, जुवातास, कौडा खेल्ने, लङ्गुर गुर्जा खेलाउने र चिठ्ठा काट्ने विरुद्ध साताब्यापी रुपमा कडा कारवाही शुरु गरिएको छ उनले थपे । 

तिहारमा घर फर्किनेहरु भन्दा उपत्यकामा नै बसेर मनाउने धेरै हुने भएकाले मदिरा सेवन गरी सवारी चलाउने, रमाइलोका नाममा अबैध जुवा अखडा सञ्चालन गर्ने, ग्याङफाइट गर्ने, देउसी भैलोका नाममा रातभर हो–हल्ला गर्नेहरुलाई सिधै प्रहरी खोरमा थुन्ने रणनीति प्रहरीलेलिएको छ । 

त्यस्तै, तिहारमा घरआगन तथा कार्यालय वत्तीको झिलीमिली बनाउने क्रममा आगलागीका घटना बढ्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल सेवा तयारी अवस्थामा राखिएको जानकारी प्रहरीले दिएको छ । 

पटाका पड्काए सार्वजनिक मुद्दा 

विष्फोटक पदार्थ आतसवाजी, पटाका, भुइचम्पा, झिरझिरे लगायतका बस्तुको ओसारपसार, खरिद विक्री तथा प्रयोगमा पूर्णरुपमा प्रतिवन्ध लगाइएको छ । यस्ता प्रतिवन्धित बस्तुको प्रयोग गरेमा सार्वजनिक मुद्दाअन्तरगत कानुनी कारवाही गरिने परिसर प्रमुख लामाले बताए । 

विष्फोटक पदार्थको प्रयोग रोक्न, झैझगडा नियन्त्रण गर्न र सामाजिक विकृतिमाथि निगरानी राख्न सादा पोशाकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

दशैँ तिहार, छठ तथा नेपाल सम्वतको सुरक्षाका लागि महानगरीय प्रहरीले करीव २३ सय २३ जना सुरक्षाकर्मी, मोटरसाइकल, साइकल, पैदल तथा भ्यान गस्ती सञ्चालन गरेको छ ।

तिहार आफैँमा आर्थिक पक्षसँग जोडिएको चाडपर्व भएकाले सम्भावित चोरी डकैति र लुटपाट नियन्त्रण गर्न टोल–टोलमा प्रहरी अभियान शुरु गरिएको जनाइएको छ । 

मापसे विरुद्ध २४ घण्टे 

मदिरा सेवन गरी सवारी चलाउने तथा ट्राफिक नियमको पालना नगर्ने सवारी चालक विरुद्धको कारवाही अभियानलाई २४ आँै घण्टा निरन्तर सञ्चालन गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्तराज पन्तले बताएका छन् । 

यसअघि दुर्घटना नियन्त्रण गर्न सञ्चालन गरेको मोटरसाइकल गस्तीलाई यथावत नै राखिएको जानकारी दिनुभयो । यस पटक दशैँमा सवारी दुर्घटनामा उल्लेख्य नियन्त्रण आएको दावी गर्दै उहाँले भने–ट्राफिक प्रहरीको सक्रियताले दुर्घटनामा नियन्त्रण आएको हो । 

त्यस्तै, लागूऔषध कारोवार तथा ओसार पसारमा पनि प्रहरीले कडा निगरानी राखेको छ । यसका लागि काठमाडौं उपत्यका भित्रका एकान्त स्थान, गल्ली चोक, झाडी, खाली जग्गा लगायत उपत्यका प्रवेशका मुख्य नाका नागढुङ्गा, बल्खु, जगाते भक्तपुर र मुड्खु लगायतका क्षेत्रमा तालिम प्राप्त कुकुर सहितको सुरक्षा निगरानी खटाइएको छ । 

तिहारका नाममा हुने विकृति विरुद्ध सचेतना

तिहार पर्वलाई शान्त, सुरक्षित, दुर्घटना रहित र अपराध मुक्त बनाउन चोरी, डकैति, लुटपाट, सवारी दुर्घटना, मदिरा सेवनमा नियन्त्रण, विष्फोटक पदार्थको प्रयोगमा नियन्त्रण, लागूऔषध विरुद्ध कारवाही अभियान र जुवातास खेल्ने तथा खेलाउने विरुद्ध सशक्त अभियान सञ्चालन गरिएको भनाई प्रहरीको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरले तिहारको सुरक्षाका लागि समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्तरगत जनचेतना मूलक प्रचा पम्पलेटिङ र माइकिङ गरिरहेका छन् । ललितपुर परिसर प्रमुख रविन्द्र धानुकले भन्नुभयो–चोरी र दुर्घटना ठप्प नै बनाउने योजना छ । 

त्यस्तै, उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीबाट अबैध घरेलु मदिरा बरामद गर्ने, पसल तथा गोदाममा लुकाइ राखेको विष्फोटक पदार्थ पटाका बरामद गर्ने र शंकास्पद ब्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने कार्य भइरहेको महानगरीय प्रहरीले जनाएको छ । 

पटाका सहित एकै दिन चार नियन्त्रणमा 

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट विभिन्न प्रकारका पटाका सहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–५ स्थित कालोपुलबाट काभ्रेका रिदम तामाङ र दिलिप श्रेष्ठलाई विभिन्न किसिमका एक सय ४ प्याकेट पटाका, ललितपुर जिल्लाको ललितपुर महानगरपालिका–१५ चापागाँउ दोबाटोबाट पर्सा वीरगंज रानीघाटका ३८ वर्षीय दिपक साह सोनारलाई विभिन्न प्रकारका ४२ किसिमका २ हजार ५७ वटा पटाका सहित प्रहरीले पक्राउ गरेको छ । 

सोही ठाउँस्थित सोनारको बिएन साईकल मर्मत पसलको गोदाममा लुकाईछिपाई राखेको अवस्थामा उक्त पटाका फेला पारिएको हो । 

त्यस्तै, भक्तपुर सूर्य्बिनायक नगरपालिका–७ बासुटोल बस्ने ४२ वर्षीय पुरुषोत्तम बासुलाई सोही ठाउँस्थित किराना पसलबाट भुई पटाका एक हजार ४ सय ५२, रकेट पटाका ८, गमला पटाका १३, आलु बम पटाका ४ र झिरझिरे पटाका २९ वटा सहित प्रहरीले पक्राउ गरेको छ । 

१७ जुवाडे प्रहरी खोरमा 

काठमाडौं र भक्तपुरको विभिन्न स्थानबाट जुवातास खेलिरहेका अवस्थामा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–२ आलापुर कृष्णचौर बस्ने ३१ वर्षीय राजु नगरकोटीको घरमा जुवातास खेलिरहेका नगरकोटी समेत ९ जनालाई ४ बुक तास र नगद ९६ हजार ५० रुपियाँँ सहित प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तैं, भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ बस्ने २७ वर्षीय क्षितिज प्रजापतीको घरमा जुवातास खेलिरहेका प्रजापती समेत ५ जनालाई ३ बुक तास र नगद ६४ हजार रुपियाँ सहित प्रहरीले पक्राउ गरेको छ ।

लक्ष्मी पूजाका नाममा नगद र गरगहना शो–नगर्न अपिल

धनधान्यकी देवी लक्ष्मी पूजाका नाममा घर तथा पूजा कोठाहरुमा ठूलो मात्रामा नगद तथा सुनका गरगहना शो नगर्न आग्रह गरेको छ । 

पूजा आरधनामा नगद तथा सुनका गरगहना शो गर्दा चोरी हुने समस्या देखिएकाले नगद तथा गरगहना शो नगर्न प्रहरीले सर्वसाधारणमा आग्रह गरेको छ । 

शनिवार साँझ काठमाडौं नयाँबानेश्वर बस्ने खोटाङकी २५ वर्षीया समिक्षा राईको घाँटीमा लगाएको करिब डेढ तोलाको सुनको सिक्री लसटिएको छ । नयाँबानेश्वर पिपलबोट नजिक नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित ब्यक्तिहरुले राईको पछाडिबाट उक्त सिक्री लुटपाट गरी फरार भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?