कार्यकारी निर्देशक डा.झालाई आयोगले सोध्यो स्पष्टीकरण

लोकपथ
0
Shares

काठमाडौं । निर्वाचन आयोगले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रञ्जितकुमार झालाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । डा.झाले सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवको प्रचार–प्रसार गरेको देखिएकाले सो निर्देशन दिइएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार–प्रसारमा संलग्न हुन वा प्रचार–प्रसार गर्न हुँदैन भन्ने व्यवस्था छ ।

स्पष्टीकरणमा भनिएको छ, ‘उल्लिखित सन्दर्भमा तपाईँले दलका उम्मेदवारको प्रचार–प्रसारमा संलग्न हुनुभएको कार्यले निर्वाचन आचारसंहिता, २०७९ र प्रचलित सार्वजनिक सेवासम्बन्धी कानुनसमेतको उल्लङ्घन हुन्छ, हुँदैन ? तपाईँबाट उक्त कार्य भएको भए किन कानुनबमोजिम कारबाही हुनुनपर्ने हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?