हेटौंडा। शपथ लिएदेखि नै मुख्यमन्त्री डोरमणि पौडेलसँग टकराव गर्दै आएका प्रदेश–३ का भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापित पदच्यूत भएका छन् ।
मुख्यमन्त्रीलाई अभद्र व्यवहार गरेकोदेखि महिलालाई यौन उत्पीडन दिएको आरोपबाट विवादित बनेका मन्त्री स्थापितलाई मुख्यमन्त्री पौडेलले शुक्रबार मन्त्री पदबाट बर्खास्त गरेका हुन् ।
मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा रहेका स्थापित बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री पौडेललाई अभद्र व्यवहार गर्दै गालीगलौजमा उत्रिएका थिए ।
मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच मन्त्रिपरिषद् बैठकमा चर्काचर्की नै भएको थियो ।
मुख्यमन्त्री पौडेल मन्त्री स्थापितले पटक पटक निर्देशन अटेर गरेको र सहकार्य गरेर काम नगरेको भन्दै उनलाई हटाउने सोचमा थिए । तर, बुधबार आफैंमाथि अभद्र व्यवहार प्रदर्शन गरेपछि उनी स्थापितलाई हटाउन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न बिहीबार काठमाडौं आएका थिए ।
अस्पतालमा प्रधानमन्त्री ओलीलाई भेटेर मुख्यमन्त्री पौडेलले स्थापितको व्यवहार र कार्यशैलीका कारण काम गर्न समस्या परेको गुनासो गरेका थिए । प्रधानमन्त्रीको निर्देशनमा स्थापितलाई पौडेलले शुक्रबार मन्त्रि पदबाट बर्खास्त गरेको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलेले जानकारी दिए । राजधानी दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया