नेपाली कांग्रेसले तिहार, नेपाल संवत, छठ पर्व लगायतका अवसरमा शुक्रबार चियापान कार्यक्रम आयोजना गर्यो ।
पार्टि केन्द्रिय कार्यालय सानेपामा आयोजना गरिएको कार्यक्रममा झण्डै एक लाख जनालाई निमन्त्रणा गरिएका थियो ।
यद्यपी सबै निम्तालु आएनन् ।
चियापान कार्यक्रममा पार्टी विभिन्न दलका नेता तथा पदाधिकारीहरु पुगेका थिए ।
चियापानमा गृहमन्त्री रामबहादुर थापा बादल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड, नेता झलनाथ खनाल, सुवासचन्द्र नेम्वाङ, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, नेकपाका नेता वामदेव गौतम, भारतीय राजदूत मञ्जिवसिंह पुरी, नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल, लगायत पुगेका छन् । निम्तालुलाई कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, रामचन्द्र पौडेल लगायतका नेताहरुले स्वागत गरेका थिए ।
चियापानमा सहभागि भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जननायक विपी कोईरालाको स्मरण गर्दै राजनीतिक पार्टीहरुबिचमा संवाद गराउन यस्तो कार्यक्रम महत्वपूर्ण हुने बताए ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले धेरै पछि प्रतिपक्षी दल नेपाली कांग्रेसको सक्रियता देखिएको बताएका छन् । उनले भने, प्रतिपक्षी के गरिरहेको छ भन्ने लागिरहन्थ्यो चियापानमा भेट भयो ।'
त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले चियापानमा फरक फरक दलका प्रतिनिधिहरु भेटघाट गर्ने अवसर मिल्ने भएकाले सकारात्मक संस्कृति भएको प्रतिक्रिया दिए ।
चियापानमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले महाधिवेशनअघि पार्टी एकतावद्ध हुने सम्भावना कम रहेको बताए ।
कोजाग्रत पूर्णिमाका दिन गर्ने गरे पनि कांग्रेसले यसवर्ष नेता चक्रप्रसाद वास्तोलाका निधनको शोकका कारण केही दिनपछि सारेर शुक्रबार गरेको हो ।
जलपानमा पानी, चिया, समोसा र निम्की राखिएको थियो । कार्यक्रमस्थलमा कांग्रेस समर्थक स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जाँच समेत गरेका थिए ।
२०३५ सालदेखि हरेक वर्ष कांग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया