सर्लाही- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले रामनगर गाउँपालिका–४ बोहर्वामा दुईपक्षबीच भएको झडपमा गोली लागी मृत्यु भएको घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गरेको छ ।
झडपमा गोली लागेर रामविलास महतोको मृत्यु भएको थियो । घटनापछि भइरहेको कुप्रचार, घटनालाई अनावश्यकरुपमा उत्तेजित बनाउन गरिएका क्रियाकलाप, सुनियोजितरुपमा यस्ता घटना सिर्जना गर्न विगतदेखि भएका गतिविधि र राजनीतिक पूर्वाग्रह राखी गरिएको कुप्रचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको नेकपा सर्लाहीले जनाएको छ ।
नेकपा र नेपाली काङ्ग्रेसबीचको झडपमा घटना भएको भनी गरिएको प्रचार प्रायोजित हल्लामात्र रहेको नेकपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “घटना राजनीतिक नभई व्यक्तिगत रिसइबीका कारण भएको हो ।”
यही कात्तिक ११ गते एक सेवाग्राहीेले वडा नं ४ का वडाध्यक्ष रामनरेश महतोसँग नागरिकता बनाउन सिफारिश लिन जाँदा वडाध्यक्ष महतोले सिफारिश नदिएपछि सामान्य विवाद भएको र त्यसै विवादलाई लिएर गोली चल्दा घटनास्थलमा एक जनाको मृत्यु भएको विज्ञप्तिमा जनाएको छ ।
राजनीतिक प्रतिशोधका आधारमा घटनामा आफ्ना पार्टीका नेता शिवपुजन रायलाई फसाउन खोज्नु अत्यन्त खेदजनक रहेको नेकपा जिल्ला संयोजन कार्यदलका सदस्य रेवती पन्तले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
यसै घटनाका सम्बन्धमा नेकपा सर्लाहीले आज प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा घटनाको दुई दिन अगाडि त्यस क्षेत्रका सङ्घीय सांसद एवं नेपाली काङ्ग्रेसका नेता अमरेशकुमार सिंह धनकौल गाउँपालिकाको हरकठवामा एक कार्यक्रम गरी नेकपा पार्टीका नेता कार्यकर्तालाई ठीक पार्ने भन्दै उत्तेजित भाषण गर्नु र त्यही योजनाअनुसार यो घटना भएको उल्लेख छ ।
घटनापछि सांसद सिंहकै निर्देशनमा सर्वसाधारणको उखुबारी, धानजस्ता कृषिबाली, ट्र्याक्टरमा आगजनी, घर र परालमा आगो लगाउने, पशुधन लुट्ने र सर्वसाधारणलाई आतङ्कित पार्ने जस्ता क्रियाकलापप्रति नेकपा गम्भीर भएको जनाएको छ ।
सङ्घीय सांसद एवं नेकपाका नेता रामेश्वर यादव, प्रदेश सांसद डिल्ली उप्रेती, वाग्मती नगरपालिका प्रमुख भरत थापा, हरिवन नगरपालिका प्रमुख गणेश प्रसार्इं, नेकपा केन्द्रीय तथा जिल्लास्तरका नेता आज जिल्ला प्रशासन कार्यालय सर्लाहीमा गई घटनामा सुनियोजितरुपमा आफ्नो कार्यकर्तालाई फसाउन खोजिएकोप्रति जिल्लाका सुरक्षा निकायका प्रमुखलाई ध्यानाकर्षण गराएको थियो ।
घटनाको सत्यतथ्य बुझी निष्पक्ष जाँचबुझ गर्न केन्द्रबाटै उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने मागसमेत नेकपाले गरेको छ ।
साथै घटनाका बारेमा सत्यतथ्य बाहिर ल्याउन पहल गर्न राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकारवादी सङ्घसंस्थालाई विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया