क्रसर र टिपरमा प्रहरीकै लगानी

 काभ्रे – मण्डनदेउपुर नगरपालिका–६, भांगेटारमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका बहालवाला नायब महानिरीक्षक (डीआईजी) सुशीलकुमार भण्डारीको मृत्युपछि नयाँ विषयको रहस्योद्घाटन भयो, उनको ‘अवैध लगानी’ ।

एक महिनाको बिदा स्वीकृत गराएर विदेश जाने तयारीमा रहेका उनी अघिल्लो दिन आफ्ना ‘व्यावसायिक साझेदार’ सँग नयाँ व्यवसायमा लगानी गर्न काभ्रेको मण्डनदेउपुर पुगेका थिए । तर त्यहीं उनको जीवनकै अन्त्य भयो । काभ्रे प्रहरीलाई सुइँको समेत नदिई पुगेका उनी दुर्घटनामा पर्दासमेत प्रहरीलाई ‘डीआईजी’ हुन् भन्ने जानकारी भएन ।

डीआईजी भण्डारीसहित ३ जनाको ज्यान जाने गरी भएको दुर्घटना ‘शंकास्पद’ भएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ । कात्तिक १० गते मण्डनदेउपुर–६ मा भएको दुर्घटना उनीसहित पत्रकार जीवन पराजुली र नेपाल ट्रेड युनियन कांग्रेसका प्रदेश ३ अध्यक्ष विनोद कार्कीको मृत्यु भएको थियो ।

 ‘शंकास्पद लागेर थप अनुसन्धान थालेका छौं,’ काभ्रे प्रहरी प्रमुख एसपी रविराज खड्काले भने, ‘दुर्घटना वा योजनाबद्ध हो भन्ने अनुसन्धानपछि पत्ता लाग्ला ।’

काभ्रे प्रहरीले डीएसपी दीपक गिरीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको उनले बताए । आइतबार प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, एसपी खड्का, पत्रकार महासंघलगायत सरोकारवालाको टोली ‘अवलोकन’ का लागि घटनास्थल पुगेको थियो ।  कान्तिपुरमा खबर छापिएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?