व्यवसायी महासंघ प्रतिनिधिमण्डल र सार्वजनिक खरिद अनुमान कार्यालयका सचिवबीच भेट

काठमाडौं । नेपाल निमार्ण व्यवसायी महासंघका प्रतिनिधिमण्डल र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवबीच भेटवार्ता भएको छ । 

बुधबार भएको भेटवार्तामा व्यवसायी महासंघका प्रतिनिधिमण्डलले निर्माण व्यवयासका समस्याका विषयमा सचिव मधुप्रसाद रेग्मीलाई जानकारी गराएका हुन् । 

महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभिन्न निकायहरुले बोलपत्र प्रकाशित गर्दा सार्वजनिक खरिद खनुगमन कार्यालयले यस अघि जारी गरेको परिपत्र पालना नगरेको बारे सचिव रेग्मीको ध्यानाकर्षण गराएका हुन् । 

सम्पूर्ण कार्यालयलाई मानक बोलपत्र कागजात Standard Bidding Document (SBD) अनुसार बोलपत्र प्रकाशित गर्न निर्देशन जारी भएतापनि सो नियमको बेवास्ता गरी सिमित व्यवसायीहरुलाई मात्र लाभ हुने गरी बोलपत्र प्रकाशित भएको बारेपनि व्यवसायी महासंघले सचिव रेग्मीलाई जानकारी गराएका हुन् । 

साथै यस्तो प्रवृत्तिका कारण अधिकांश व्यवसायीहरु निर्माण कार्यमा भाग लिनबाट बञ्चित भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघमा गुनासो आएको महासंघका अध्यक्ष सिंहले बताए । 

सार्वजनिक खरिद नियमावली र त्यस कार्यालयले जारी गरेको Standard Bidding Document (SBD) बमोजिम बोलपत्र संशोधन गरी सरलीकृत ढंगले बोलपत्रको योग्यता परिवर्तनका लागि सम्बन्धीत निकायमा निर्देशन गरिदिन समेत महासंघले सचिव रेग्मी समक्ष आग्रह गरेको हो ।

भेटमा सचिव रेग्मीले निर्माण व्यवसायीका समस्या समाधान गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयले जहिले पनि सहयोग गर्ने प्रतिबद्घता व्यक्त गरेका थिए । 

साथै सचिव रेग्मीले सम्बन्धित निकायका अधिकारीहरुसँग छलफल गर्ने बताए ।

भेटमा महासंघका उपाध्यक्षहरु आङ दोर्जी लामा ए.डी, सुरेन्द्र प्रसाद सिंह, महासचिव रोशन दाहाल, उप–महासचिव (नीतिगत) टंक प्रसाद चौलागाईं, कोषाध्यक्ष हिरण कुमार श्रेष्ठ, महासंघका जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता रहेको थियो ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?