व्यवस्था फेरियो, अवस्था फेरिएन

RSS
351
Shares

पाल्पा । बिहानको मिरमिरे उज्यालोसँगै गजवीर बोटे घरछेवैको गोठमा डाँढाभाटा लगाउँदै थिए । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–७ दैलातुंगका गजवीरको गत २०७८ फागुनमा गोठ आगलागी भएको थियो । ‘पानीबाट जोगाउन फालिएका टिन र त्रिपाल बटुलेर लगाउँदै छु,’ उनले भने । यहाँ ३२ घर बोटेमाझीको बस्ती छ ।

गजवीर, बोटे समुदायका अगुवा हुन् । ८२ वर्षीय गजवीरले नेपालको राजनीतिक व्यवस्था फेर्न यो क्षेत्रबाट अगुवाइ गरेका थिए । पञ्चायतकालमा जनतापक्षबाट अगुवाइ, ०४७ मा बहुदलको आन्दोलन र ६२–६३ मा जनआन्दोलनको नेतृत्व गरेका गजवीर आफ्नै छाक टार्न समेत जोहो गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

६८ वर्षीया श्रीमतीसँगै बस्दै आएका गजवीरका छ छोरा र चार छोरी छन् । तर, उनीहरू कुनै पनि साथमा छैनन् । यो बस्ती कालीगण्डकी नदी किनारमा अवस्थित छ । यहाँका बोटे समुदायले डुंगा तार्ने काम गर्थे । दैलातुंगदेखि पाल्पाको बगनासकाली, तानसेन तथा स्याङ्जाको कालीगण्डकी र गुल्मीसम्मका मानिस कालीनदी तरेर जान्थे । गजवीरले १३ वर्षको उमेरदेखि डुंगा तार्ने काम गर्दै आएका थिए ।

तीन वर्षअघिसम्म यहाँको कालीगण्डकी नदीमा आजकल जस्तो पुल थिएन । सर्वसाधारणलाई नदी वारिपारि गर्न डुंगाको सहारा लिनुपर्थ्यो । मान्छेलाई वारिपारि गराएर स्थानीय बोटे समुदायको घरमा चुलो बल्थ्यो । अहिले कालीगण्डकी नदीमा पुल बनेपछि गजवीरको डुंगा गण्डकी किनारमा फालिएको छ । उनको आम्दानीको स्रोत पनि बन्द भएको छ ।

यहाँकै रूकबहादुर बोटे खुट्टामा चोट लागेपछि घरमै थला परेको चार वर्ष भयो । ६९ वर्षका रूकबहादुरलाई गाउँमा बाँदर धपाउन जाँदा लडेर चोट लागेको थियो । गाउँमै मेलापात र माछा मारेर दैनिकी चलाउँदै आएका उनले आफ्नो जीवनकालमा छ पटक संसदीय निर्वाचनमा भोट हालेका छन् । ‘पहिला पहिला त घर आएर भोट माग्थे, अहिले त आएका छैनन्,’ आसन्न मंसिर ४ को चुनावलाई लक्षित गर्दै उनले भने, ‘यहीँ माथिबाट नेताहरूको गाडी जान्छ, गाउँमा पस्दैनन् ।’

रूकबहादुरको घर नजिकै खानीगाउँ दैलातुंग–स्याङ्जा–विर्गा जोड्ने मोटरबाटो छ । अन्य समुदायका घरमा टिनको छानो लगाइएको छ भने बोटेहरूका धेरैजसो घर झुपडी र टिनको छाप्रोयुक्त छन् । वैदेशिक रोजगारीका अतिरिक्त पुरुषहरू सिकर्मी÷डकर्मी काम गर्ने, वल्लोपल्लो घरमा ज्याला मजदुरीमा काम गर्न जान्छन् । महिलाहरू छिमेकीका घरको कामधन्दासँगै उनीहरूका खेतबारीको काम गर्छन् ।

यहाँका बोटे समुदायसँग उनीहरूलाई गरिखान पुग्ने जमिन छैन । ‘उब्जाएको उत्पादनले खान पुग्दैन, किनेर खान पैसाले पुग्दैन,’ स्थानीयवासी पवित्रा बोटेले भनिन्, ‘हामीलाई के नै चाहिएको छ र ! दुई छाक खान पुग्ने व्यवस्था भइदिए हुन्थ्यो भन्ने त हो ।’ बोटे बस्तीमा सरकारले जनता आवास कार्यक्रमबाट घर बनाइदिएको थियो । पवित्राका अनुसार ३२ घर बोटे परिवार रहेको बस्तीमा आठ वटा मात्र घर बनेका छन् । बाँकी झुपडी र टिनको छाप्रो हुन् ।

कुल जनसंख्याको ०.५ पाँच प्रतिशतभन्दा कम जनसंख्या भएको समुदायलाई सरकारले अल्पसंख्यकको सूचीमा राखेको छ । नेपालका एक सय २५ मध्ये ९८ जाति अल्पसंख्यक सूचीमा परेका छन् । यसमा बोटे र माझी पनि पर्छन् । पाल्पा सदरमुकाम तानसेनबाट झन्डै १५ किलोमिटर उत्तरमा रहेको खानीगाउँको दैलातुंग र वडा नम्बर ६ स्थित यम्घाको दर्पुकमा सीमान्तकृत बोटे समुदाय बस्छन् । यी दुवै गाउँ कालीगण्डकीको किनारमै छन् ।

दैलातुंगमा बोटे समुदायका ३२ घर र दर्पुकमा ८० घर छन् । अहिले दैलातुंगमा बोटे समुदायको जनसंख्या १५० छ भने दर्पुकमा तीन सय ५० हाराहारीमा छ । त्यस्तै, तानसेन नगरपालिकाको बौघागुम्हा, रामपुर नगरपालिकाको रामपुर र दर्छा तथा रम्भा गाउँपालिकाको हुँगीमा पनि बोटे समुदायको बसोबास छ । यी सबै बस्ती कालीगण्डकी किनारमै पर्छन् ।

विसं २०६८ सालको जनगणनाअनुसार देशभर बोटे जातिको जनसंख्या १० हजार छ । पाल्पामा आठ सय तीन छ । पाल्पाबाहेक चितवन, उदयपुर, मकवानपुर, तनहुँ लगायतका जिल्लामा बोटे जातिको बसोबास पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?