काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुली क्षेत्र नम्बर १ बाट गठबन्धनतर्फका उम्मेदवार श्याम कुमार घिमिरेले चुनाव जितेर गएपछि गठबन्धनभित्रका कुनै दललाई स्थिरता भत्काउने छुट नभएको बताएका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिमिरेले आउने पाँच वर्षसम्म यही गठबन्धन कायम रहने दाबी गरेका हुन्।
‘म केन्द्रीय सदस्यको हैसियतले प्रतिबद्धता व्यक्त गर्छु, यो गठबन्धन आउने पाँँच वर्षसम्म भत्किने छैन,’ उनले भने । नेकपालाई प्रश्न गर्दै उनले एमाले सरकारमा रहँदा गरेको संसद विघटनलाई स्मरण गर्दै ‘नेकपा एमालेले के भनेर भोट माग्ने ? जनताले त्यत्रो मत दिएर पठाए तर दुइदुइपटक संसद भङ्ग गर्ने काम भयो। अब के भनेर एमालेले भोट माग्छ ?’ भनेका थिए ।
साथै, केन्द्रमा प्रभाव, क्षेत्रमा विकासको नारा लगाउँदै चुनावी अभियानमा होमिएका घिमिरेले आफूले राष्ट्रिय राजनीतिमा खेल्ने भुमिकाबारे समेत स्पष्ट पारेका छन्। एउटा सांसद भएर नितिनिर्माण तहमा आफूले अब्बल भुमिका खेल्ने प्रतिज्ञा उनले गरे।
लोकतन्त्रको मान्यता भनेको विधिको शासन हो। त्यो विधिको शासन निर्माण गर्ने काममा सबैभन्दा सक्रिय सांसद भएर भुमिका खेल्छु। त्यस्तै,‘असमान बजेट वितरणको अन्त्य गर्ने काममा पनि सक्रिय भुमिका खेल्छु,’ उनले भने।
शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेको असमानताको खाडल पुर्न आफूले भुमिका खेल्ने घिमिरेको जिकिर छ। शिक्षामा व्यापक असमानता रहेको बताउँँदै सार्वजनिक शिक्षामा सुधार गर्ने र विद्यालयदेखी विश्वविद्यालय शिक्षामा आमूल परिवर्तन ल्याउनेमा अग्रसर भएर काम गर्नेमा दाबी उनले गरे।
‘म एउटा अभियान सुरु गर्छु भनेको छु, सम्पुर्ण सरकारी अस्पतालको गुणस्तर सुधार गर्दै निःशुल्क उपचारको थालनी गर्ने अभियान थाल्छु,’ उनले थप्दै भने, ‘योसँगै सिन्धुलीमा पुर्वाधारको क्षेत्रमा काम गर्न धेरै बाँकी छ। मेरो घर तिनपाटन जान बाटो नै खराब छ। त्यसैले सिन्धुली–तिनपाटन हुँदै कटारी निस्कनेबाटो पिच गर्ने, गोदार–चकमके हुँदै नवलपुर जाने बाटो व्यवस्थित बनाउने र खनियाखर्क हुँदै गहुबारी निस्कने बाटो पिच गरेर सहज बनाउन भुमिका खेल्छु। यी सबै रणनीतिक बाटोलाई पिच गराएर राम्रो बनाउने योजना मेरो प्राथमिकतामा छ।’
केन्द्रिय राजनीतिमा भुमिका खेल्नेदेखि स्थानीयस्तरको विकासको योजनाबारे चर्चा गरेका घिमिरेले सबै तहमा गठबन्धनको सरकार हुने भएकोले पनि काम गर्न सहज हुने बताए। ‘सबैतिर हाम्रो सरकार हुन्छ। पालिकाबाट हुने काम पालिकाबाट हुन्छ, प्रदेशले गर्नसक्ने प्रदेशबाट गराउछु। तिनले नसकेको काम प्रतिनिधिसभाबाट गर्नेछु। हामी मिलेर काम गर्नेछौं,’ उनले दाबी गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया