काठमाडौं । नेपालमा वर्षेनी झण्डै ६८० जना नयाँ एचआईभी संक्रमित थपिने र ५१० जनाको मृत्यु हुने गरेको पाइएको छ । बिहीबार काठमाडौंमा स्वास्थ्य पत्रकार मञ्च नेपाल र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको संयुक्त आयोजनामा भएको एचआईभी एड्स तथा यौन रोगसँग सम्बन्धित लान्छना तथा भेदभाव न्युनिकरण सम्बन्धि कार्यक्रममा केन्द्रकी निर्देशक डा.सुधा देवकोटाले सो तथ्यांक बताएकी हुन् ।
उनका अनुसार नेपालमा झण्डै ३० हजार एचआईभी एड्सका संक्रमित रहेका छन् । जसमध्ये पुरुष १६ हजार ४०० भने १३ हजार ६०० जना महिला छन् । त्यस्तै, १४ बर्षमुनिका बालबालिकाहरु १२ सय जना रहेका छन् । त्यस्तै, एचआईभी संक्रमित गर्भवती महिलाहरुको संख्या २०० जना रहेको उनले जानकारी दिइन् ।

उनका अनुसार पहिलाको तुलनामा पछिल्लो समय एचआईभी एड्सका बिरामीको संख्या बढ्दै गएको छ । तर, यसको नियन्त्रणका लागि विनियोजन गरिने बजेट भने वर्षेनी घट्दै गएकाले समस्या परेको उनको भनाई छ ।
बजेटको अभावमा सबैभन्दा ठूलो समस्या एचआईभी परीक्षण कीट खरिदमा परेको उनले सुनाइन् । जसकारण पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौति देखिएको छ । ‘एचआईभी परीक्षण किट खरिदमा पनि पर्याप्त बजेट नहुँदा पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौति देखिएको हो,’ उनले भनिन् ।
७७ जिल्लामा एचआईभी रोकथामका कार्यक्रम नहुँदा, संक्रमितहरुप्रति समाजमा भेदभाव तथा लान्छना यथावत रहेको र सबै गर्भवती, सुत्केरी महिलाहरुको एचआईभी परीक्षणको पहुँचमा नसकेको उनले खुलासा गरिन् ।
केन्द्रका लागि आर्थिक वर्ष २०७७÷०७८ मा ५६ करोड ४८ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । यस्तै, २०७८÷०७९ मा ५६ करोड ५२ लाख रुपैयाँ विनियोजन भएकोमा २०७९÷०८० मा ५५ करोड ९७ लाख बजेट रहेको केन्द्रकी निर्देशक डा.देवकोटाले जानकारी दिइन् ।
उनकाअनुसार एचआईभी रोकथाम कार्यक्रमहरु नयाँ एचआईभी संक्रमण रोक्न तथा हालसम्म सेवा नपाएका जोखिम समुहहरुलाई प्राथमिकतामा राखि समयमा नै सेवा पुर्याउँनुपर्ने र प्रदेश, स्थानीय स्तरका प्रयोगशालामा क्षमता अभिवृद्धि गर्ने जस्तै मानव संसाधन बजेट, पुर्वाधार लजिस्टिक्स र आपुर्ति व्यवस्थापन गर्नुपर्ने देखिएको छ । ‘नेपालबाट २०३० सम्ममा एचआईभी एड्स उन्मुलन गर्ने सरकारको लक्ष्य छ,’ उनले भनिन् ।
एचआईभी एड्स नियन्त्रणमा मन्त्रालयको पूर्ण साथ रहन्छ : मन्त्री खापुङ
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारले रोग नियन्त्रण गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘एचआइभी एड्सको नियन्त्रण गर्न लागि पर्नुहोस् मन्त्रालयको तर्फबाट पूर्ण सहयोग हुनेछ ।’
त्यसैगरी, कार्यक्रममा इपीक नेपालका राजेश खनालले हामी पहिला कुन समुदायमा एचआइभी संक्रमित छन् त्यो समुदाय खोज्ने गरेको जानकारी दिए । ‘एचआईभी नेगेटिभ भएकाहरुमा नेगेटिभ राख्ने विषयमा यस संस्थाले काम गर्दै आएको छ,’ खनालले भने, ‘हामीले सातै प्रदेशका ३७ जिल्लाअन्तर्गतका ३८७ नगरपालिकामा सेवा दिँदै आएका छौं ।’

खनालका अनुसार पहिला–पहिला एचआईभी एड्स रगतबाट जाँच गरिन्थ्यो भने अहिले र्यालबाट एचआईभी परीक्षण भइरहेको छ ।
त्यसैगरी, कार्यक्रममा सेभ द चिल्ड्रनका प्रतिनिधि सुजन वन्तले १६ मार्च २०२१ देखि ३१ जुलाई २०२४ सम्ममा एचआईभी संक्रमित उपचारका कार्यक्रम सञ्चालन गरिएको बताए । यो संस्थाले मुख्य चार तहमा काम गर्दै आएको समेत जानकारी दिए । वन्तले भने, ‘हामीले २८ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेका छौं, आठ वटा गैरसरकारी संस्थाको सहकार्यमा सञ्चालन गरिरहेका छौं ।’
वन्तका अनुसार महिला एचआईभी पोजेटिभका लागि लक्षित गरेर काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा र सुनसरीमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । ‘सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने २० वटा जिल्ला छानेर हामीले एचआईभीका जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘राष्ट्रिय रणनीतिअनुसार १२ वटा जिल्लाका १३ वटा कारागारमा एचआईभीका कार्यक्रम सञ्चालन गरिरहेको छ ।’

कार्यक्रममा एएचएफका अजित पौडेलले एआरटी सेवामा आउन सहयोग गर्ने गरेको बताए । पौडेलले यस संस्थाले एआरटी सेवा लिइरहेकालाई औषधि लिने बेला भयो भनेर घरमै गएर बोलाएर दिने गरेको बताए ।
एआरटी सेवा लिन जानआउन समस्या हुनेलाई आर्थिक सहयोग गरेर भए पनि एआरटी सेवाको पहुँचमा लैजाने गरेको उनले जानकारी दिए । पौडेलले भने, ‘जोखिम न्युनिकरणका लागि व्यवहार परिवर्तनका लागि शिक्षा दिने काम गरिरहेका छौँ ।’
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले एचआईभी संक्रमितलाई गरिने विभेद र लान्छना सबै समुदाय मिलेर घटाउन सकिने बताए । डा. सिंहले भने, ‘एकजना मात्र लागेर हुँदैन सबै समूदाय लागेर मात्र यो भेदभाव र लान्छना अन्त्य गर्न सकिन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया