पाइपलाइनबाट एक हजार घरधुरीलाई ग्यास वितरण गरिने

लोकपथ
112
Shares

झापाको कनकाई नगरपालिका–१ सुकेडाँगीस्थित बायोग्यास प्लान्ट आगामी मङ्सिरदेखि सञ्चालनमा आउने भएको छ । बायोग्यास प्लान्टको निर्माणकार्य ९० प्रतिशत पूरा भएको छ । प्लान्ट सञ्चालनार्थ उपकरण जडानको काम बाँकी रहेको कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनीका प्रबन्ध निर्देशक दीपक तिम्सिनाले जानकारी दिए ।

भौतिक पूर्वाधारअन्तर्गत घेराबारा, फोहर भण्डारणस्थल निर्माण, फोहर सेपरेटर, डाइजेस्टरलगायतका सबै काम भइसकेको छ । ग्यास फिल्टर, सिलिण्डरमा ग्यास भर्नेलगायतका उपकरण एकापसमा जडानको काम बाँकी छ । “अधिकांश उपकरण आइसकेको, एकाध बाँकी छ”, उनले भने, “अब मेसिन एकअर्कामा जोड्ने काम बाँकी छ ।”

कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाबाट उत्पादित फोहर व्यवस्थापन गर्ने उद्देश्यले प्लान्ट स्थापना गरिएको हो । कनकाई–१ स्थित सुकेडाँगीमा ५७ कठ्ठा जग्गा खरिद गरी प्लान्ट स्थापना गरिएको छ । जसबाट दैनिक ४० टन फोहर व्यवस्थापन हुनुका साथै जैविक मल, तापीय ऊर्जा मिल्नेछ ।

यहाँबाट कुहिने र नकुहिने दुवै प्रकारको फोहर व्यवस्थापन हुने प्रबन्ध निर्देशक चापागाईँले बताए । रु १४ करोडको लागतमा कुहिने फोहर व्यवस्थापन गर्ने गरी काम थालिए पनि नकुहिने फोहरसमेत व्यवस्थापन गर्ने गरी रु २४ करोडको लागतमा काम भइरहेको छ ।

प्लान्ट सञ्चालनमा आएपछि दैनिक एक हजार केजी बायोग्यास, ३० हजार लिटर झोल र आठ टन जैविक मल (ठोस मल) उत्पादन हुने कम्पनीका प्राविधिक सल्लाहकार जीवन श्रेष्ठले जानकारी दिए । “विश्वमै मिथेन ग्यास व्यवस्थानलाई यो प्रविधि वरदान सावित हुँदै गएको छ”, उनले भने, “बढ्दो पृथ्वीको तापक्रम घटाउन सहायक हुने भएकाले पनि विश्व बैंकले यो क्षेत्रमा लगानी गर्दै आएको हो ।”

उत्पादित बायोग्यास एलपी ग्यासको विकल्पसँगै अटोरिक्सा, तापीय ऊर्जा चाहिने औधोगिक क्षेत्र, अस्पताललगायतका प्रतिष्ठानमा प्रयोग हुनेछ । यहाँबाट उत्पादन हुने बायोग्यास एलपी ग्यासभन्दा बढी प्रज्वलनशील हुने प्राविधिक सल्लाहकार श्रेष्ठले बताए ।

उत्पादन सुरु भएसँगै पाइपलाइनको माध्यमबाट पाँच किलोमिटर वरपरका एक हजार घरधुरीलाई ग्यास वितरण गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?