सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँटको टुंगो शीर्ष नेताहरूबाटै लगाइने

लोकपथ
42
Shares

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

आजको बैठकले गठबन्धन कार्यदलले बुझाएको प्रतिवेदनमाथि निस्कर्ष निकाल्ने जनाइएको छ । बिहीवार बसेको गठबन्धन कार्यदलको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन दलहरु बीचमा सिट बाँडफाँटमा सहमति हुन नसकेपछि शीर्ष नेताहरुलाई नै सिट बाँडफाँडको अन्तिम टुंगो लगाउन प्रतिवेदन बुझाएको थियो ।

सत्ता गठबन्धनको आजको बैठकले कार्यदलले बुझाएको प्रतिवेदनमाथि सहमति खोज्न शीर्ष नेताहरूले छलफल गर्नेछन् । गत साउन २० मा चुनावी तालमेल गर्ने औपचारिक निर्णय गर्दै पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताले सिट बाँडफाँट कार्यदल गठन गरेका थिए ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले सिट बाँडफाँटबारे क्षेत्रगत रूपमा मसिनो गरी छलफल गरे पनि कुन दलले कति सिट लिने भन्ने सहमति गर्न सकेको थिएन । आफूले दाबी गरेकाभन्दा केही सिट घट्न गठबन्धनका सबै दल तयार भए पनि सिट संख्यामा सहमति हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?