काठमाडौं । सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने गरी बसेको सत्ता गठबन्धन कार्यदलको बैठक आजपनि बिना निष्कर्ष सकिएको छ ।
कार्यदलले आज सहमति जुटाएर शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउने भनिए पनि सिट भागवण्डामा सहमति नजुटेका कारण प्रतिवेदन तयार हुन सकेको छैन । बालुवाटारमा बिहान ९ बजेदेखि बसेको कार्यदलको बैठक लम्बिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जसपाका शीर्ष नेताहरुलाई २ बजे छलफलका लागि बोलाएपछि प्रतिवेदन बुझाउने समय सरेको छ । नागरिकता विधेयकका सम्बन्धमा छलफलका लागि राष्ट्रपति भण्डारीले जसपाका शीर्ष नेताहरुलाई राष्ट्रपति कार्यालयबाट बोलाएकी हुन् ।
जसपाका नेताहरु राष्ट्रपति कार्यालयबाट फर्केपछि प्रतिवेदन बुझाउने बताइएको छ । अहिलेसम्म भएका सहमतिकै आधारमा शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउने कार्यदलको तयारी छ । कार्यदलको बैठकपछि शीर्ष नेताहरूको बैठक बस्ने तयारी रहेको थियो । दलहरुले आफ्नो दाबी नछोड्दा कार्यदलमा सहमति जुट्न सकेको छैन ।
कार्यदलमा सहमति हुन नसक्दा अब शीर्षस्थ नेताहरुबाट नै अन्तिम निस्कर्ष निस्किने बताइएको छ । त्यही कारण १ बजे बस्नुपर्ने शीर्ष नेताहरूको बैठक धकेलिएको बताइएको छ । कार्यदलमा ठोस सहमति नजुटेका कारण शीर्ष नेताहरूले सहमति गर्ने तयारी पनि भइरहेको छ ।
दलहरूले यसअघि जितेका निर्वाचन क्षेत्र र निर्वाचनमा प्राप्त मतभारलाई आधार मान्दै आफूले दाबी गर्दै आएका छन् । गठबन्धन दलमा सिट संख्या र निर्वाचन क्षेत्रका विषयमा मापदण्डसहित पटकपटक छलफलबाट सहमति खोजेपनि सहमति हुन सकेको छैन ।
राजनीतिक दलले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची असोज १ मा बुझाउनुपर्ने भएकोले त्यसअघि नै प्रत्यक्षतर्फका सिट बाँडफाँट टुंग्याउने गरी तयारी छ । प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भने असोज २३ मा हुने आयोगको कार्यतालिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया