बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीमा प्रहरी र डाँका समूहबीच भएको दोहोरो भिडन्त भएको छ । मध्यराति करिब १२ः०५ बजे एरोटेक प्रा.लिमा दोहोरो भिडन्त भएको हो ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीमा रहेको एरोटेक प्रा.लि. सिलिन्टर कम्पनीमा डाँकाहरुको समूहले लुटपाट गरिरहेको सूचना पाएलगतै घटना स्थलमा प्रहरी पुगेको थियो । करिब २० जनाको समूहमा आएका डाँकाहरुले उद्योग भित्र लुटपाट गरिरहेका बेला प्रहरी र डाँकाबीच दोहोरो भिडन्त भएको हो ।
दोहोरो भिडन्तमा डाँकाले एक राउन्ड र प्रहरीले तीन राउन्ड गोली चलाएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । डाँकाले चार राउन्ट फायर गरे पनि ३ राउन्ट नपड्केको र एक राउन्ट पड्केको थियो ।
प्रहरीले दोहोरो भिडन्तको क्रममा कटुवा पेस्तोल १ थान, एकनाले बन्दुक १ थान र गोली ३ थानसहित २ जना डाँकालाई पक्राउ गरेको छ । प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरा बस्ने जयराम पासवान र वडा नम्बर १० बलुवाबेहरा बस्ने जवाहिर महतोलाई पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।
दोहोरो भिडन्तको क्रममा वरिष्ठ प्रहरी नायव निरीक्षक कलाम शाही घाइते भएका छन् । डााका पक्रने क्रममा डाँकाले प्रहार गरेको रडबाट शाही घाइते भएका हुन् ।
घाइते वरिष्ट प्रहरी नायव निरीक्षक शाहीको वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यता दोहोरो भिडन्तमा घाइते एक जना डाँकाको अलपाइन अस्पताल सिमरामा उपचार भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया