टिकट वितरणमा कुनै विभेद हुँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा टिकट वितरणमा कुनैपनि विभेद नहुने बताएका छन् । उनले आफू नातावादको पक्षपोषक नभएकोसमेत बताए । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीभित्र टिकट वितरणमा कुनै विभेद नहुने प्रतिवद्धता जनाए ।

‘एमालेभित्र टिकट वितरण क्षमतावानलाई हुनेछ । योग्यता पुगेकाहरूले टिकट पाउनेछन् । कसैप्रति भेदभाव हुनेछैन,’ उनले भने । एमाले सन्तुलित र दीगो विकासका एजेन्डा लिएर चुनावमा अघि बढ्ने ओलीको भनाइ छ । उनले आफ्नो भाइलाई राजदूत वा सांसद बनाउने कुनै मनसाय नरहेको बताए । आफूले भाइ, बहिनी श्रीमती वा सालोप्रति कुनै पदका निम्ति मरिहत्ते नगरेको उनले बताए ।

ओलीले बिरामी भइहाले उपचार गराउने पैसा आफूसँग नभएको पनि बताएका छन् । आफूले व्यक्तिगत सम्पत्ति राज्यलाई दिएको उल्लेख गरे । ‘मैले आफ्नो व्यक्तिगत सम्पत्ति राज्यको सम्पत्ति भनेर पास गरिदिएको छु,’ ओलीले भने, ‘म देशका लागि समर्पित छु ।’

उनले आफू र श्रीमती बाँचुन्जेल घरमा बस्न पाउने बताए । उनले भने, ‘घर बेचेर उपचार गर्छु भन्ने पनि छैन, घर दान गरिसक्या छ । दान ग¥या बेच्न मिल्दैन ।’ उनले आफू युवाहरू जत्तिकै सक्रिय रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?