यसकारण बेलाबेलामा रोकिन्छ केबलकार

लोकपथ
28
Shares

काठमाडौं । चन्द्रागिरिको केबलकार बेलाबेलामा रोकिने गरेको विषयमा चन्द्रागिरि हिल्सले आफ्नो औपचारिक धारणा बाहिर ल्याएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै चन्द्रागिरी हिल्सले बेलाबेला केबलकार अवरुद्ध हुनुको प्राविधिक कारणबारे जानकारी गराएको हो ।

विद्युत आपूर्तिको अनियमितता तथा अन्य कारणले केबलकार बेला बेलामा रोकिने गरेको छ । केही दिनअघि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना केवलकारमै अड्किएको भन्ने समाचारले बाहिरीसँगै यो विषयले देशव्यापी चर्चा पाएको थियो । त्यस बखत केहीबेर केबलकार बीचमै रोकिएपछि केवलकारमा सवार मानिस आत्तिएका, अक्सिजन नपुगेर सास फेर्न गाह्रो भएको समाचार आएको थियो । अकस्मात केवलकार रोकिएको अवस्थामा के गर्ने, किन रोकिन्छ ? भन्नेबारे चन्द्रागिरी हिल्सले पत्रकार सम्मेलन गरेर प्राविधिक समस्याका बारेमा जानकारी दिएको हो ।

चन्द्रागिरी हिल्सले पत्रकारलाई केवलकारमा चढाएर केवलकार रोकिएको खण्डमा के हुन्छ भन्ने जानकारीसहित केही बेर बिचमै केवलकार रोकेर जानकारी गराएको थियो । यो एक अभ्यास थियो र केबलकारका प्राविधिकहरुले पूर्वजानकारी गराएरै केबलकार रोकेका थिए । पत्रकार चढेका हरेक केबलकारमा केबलकारका प्राविधिक र कर्मचारी सहभागी थिए ।

उनीहरुले पत्रकारलाई केवलकारमा आउनसक्ने समस्या र समाधानका उपायबारे बुझाइरहेका थिए । आजको अभ्यास यो केबलकार सुरक्षित छ र कहिलेकाहीँ कुनै प्राविधिक कारणले केही मिनेट रोकिन सक्छ भन्ने जानकारी दिन आयोजना गरिएको थियो ।

प्राविधिक विषय भएकोले केवलकार पूरैरुपमा बिजुलीमा निर्भर हुने चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । बिजुली गएपछि केही समय रोकिने र त्यसलगत्तै जेनेरेटरबाट चलाइने उनले जानकारी दिए । जेनेरेटरले पनि समय लाग्ने अवस्था भएमा ‘इमर्जेन्सी ड्राइभ’ का कैयौँ विकल्प भएको उनले जानकारी दिए ।

केबलकार पूर्ण रुपमा सुरक्षित भएकाले कुनैबेला रोकिए पनि रोकिँदैमा डराउनुपर्ने अवस्था नरहेको उनले जानकारी दिए । उनले यदि कोही यात्रु रोकिएर माथि रहेमा उनीहरुलाई निःशुल्करुपमा रिसोर्टमा बस्ने, खाने व्यवस्था गरिने र आकस्मिकरुपमा तल झर्नुपर्ने यात्रुलाई सवारी साधनकोसमेत व्यवस्था रहेको जानकारी दिए ।

चन्द्रागिरि केबलकारका सेल्स मार्केटिङ प्रमुख प्रभाकर खड्काले मेसिनबाट चल्ने भएकाले कहिलेकाहीँ केबलकार रोकिन सक्ने, प्राविधिक समस्या आउन पनि सक्ने भए पनि पूर्ण सुरक्षित रहेने बताए ।

विश्वकै उत्कृष्ट प्रविधि प्रयोग गरे पनि प्राविधिक समस्याका कारण केही समय केबलकार रोकिनसक्ने तर त्यसका लागि वैकल्पिक व्यवस्थाका लागि सधैँ तयारी अवस्थामा रहने हुनाले पनि कुनै जोखिम नहुने सञ्चालकको भनाइ थियो । चन्द्रागिरि हिल्सले आज यसको सम्पूर्ण प्राविधिक पक्षको स्थलगलत अध्ययन गराई, केबलकारमार्फत बटम स्टेनसमा लगेर पत्रकार सम्मेलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?