निर्माणाधिन फोहोरपानी प्रशोधन केन्द्रको निरीक्षणमा खानेपानी मन्त्री

लोकपथ
14
Shares

ललितपुर । खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल) आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) द्वारा ललितपुरको धोविघाटमा निर्माणाधिन फोहोरपानी प्रशोधन केन्द्रको मंगलबार निरीक्षण गरेका छन् ।

मन्त्री चौधरीले फोहोरपानी प्रशोधन केन्द्रमा भएका निर्माण कार्यको प्रगति, विद्यमान समस्या र समाधानका सम्भावित उपयायहरुका बारेमा सम्बन्धित पदाधिकारीहरुबाट जानकारी लिएका छन् । धोविघाटमा रहेका दुईवटा निर्माणाधिन फोहोरपानी प्रशोधन केन्द्रमध्ये प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको एउटा केन्द्रको निर्माण कार्य आगामी डिसेम्बरभित्र सम्पन्न हुने चरणमा रहेको छ भने प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताकै अर्को केन्द्रको निर्माणमा भने समस्या देखिएको छ ।

त्यस अवसरमा मन्त्री चौधरीले निर्माण सम्पन्न हुने चरणमा रहेको फोहोरपानी प्रशोधन केन्द्र छिटोभन्दा छिटो संचालन गर्नेगरी तयारी अगाडि बढाउन र निर्माणमा समस्या देखिएको केन्द्रको निर्माण कार्य के कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा निक्र्यौल गरी कार्ययोजना बनाई अघि बढ्न निर्देशन दिए । मन्त्री चौधरीले कुनै पनि विकास आयोजना तथा कार्यक्रम तोकिएको समयभित्रै सम्पन्न हुनुपर्छ भन्दै आयोजनाका अधुरा काम पूरा गर्नका लागि विकल्प सहितको कार्ययोजना बनाएर अघि बढ्न र स्थानीय वासिन्दासँग गरेका प्रतिवद्धताहरु पूरा गर्नका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन दिए ।

कार्यक्रममा पिआईडीका आयोजना निर्देशक राजेन्द्र सापकोटाले निर्माण सम्पन्न हुने चरणमा रहेको फोहोरपानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न हुनासाथ संचालनमा ल्याउनका लागि दुबै प्रशोधन केन्द्रका साझा संरचनाका रुपमा रहेको दोस्रो आयोजना अन्तर्गतको संरचनाको निर्माण कार्य सम्पन्न गर्न पहल भइरहेको जानकारी दिए । ललितपुर महानगरपालिकाका वडा नं. ४ का वडाध्यक्ष सन्तोष खड्काले फोहोरपानी प्रशोधन केन्द्र निर्माणका क्रममा आयोजनाबाट गरिएका सडक, ढल तथा खानेपानी सुविधा उपलब्ध गराउने प्रतिवद्धता पूरा गर्न आग्रह गर्दै आयोजनामा आइपर्ने समस्या समाधानमा वडाको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

त्यस अवसरमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले काठमाडौं उपत्यकाका नगरपालिकाहरुमा फोहोरपानी व्यवस्थावनको अवस्था, विद्यमान समस्या र समाधानका सम्भावित उपाय तथा पिआईडीका आयोजना प्रवन्धक राजेश कुशवाह र दोस्वा इन्जिनियरिङ कम्पनीका कन्सल्ट्यान्ट राजनारायण गुप्ताले फोहोरपानी प्रशोधन केन्द्रहरुका बारेमा प्रस्तुती गरेका थिए । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाल, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत र आयोजना कार्यान्वयन निर्देशनालयका पदाधिकारीहरु लगायत स्थानीय वासिन्दाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?