कांग्रेस संस्थापनबाट युनियन अध्यक्षमा अनिता बिन्दुलाई टिकट

लोकपथ
98
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले नेपाल प्रेस युनियनको अध्यक्षमा अनिता बिन्दुलाई उठाउने भएको छ । आगामी साउन ६ र ७ गते हेटौंडामा हुने युनियनको महाधिवेशनमा बिन्दुलाई अध्यक्षमा अघि सार्न लागेको जनाइएको छ ।

नेपाल पत्रकार महासंघकी पूर्वउपाध्यक्षसमेत रहेकी उनलाई सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले युनियन अध्यक्षमा उठाउने निर्णय गरेको हो । अध्यक्षको दौडमा रहेका अर्का दाबेदार सरोजराज अधिकारी अब वरिष्ठ उपाध्यक्षमा उठ्ने भएका छन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीष्मराज ओझाले महासचिवमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ । त्यस्तै महासचिवमा दाबी गरेका केशव सावद अब उपमहासचिवमा लड्ने भएका छन् ।

अनिताले मंगलबार दिउँसो १ बजे होटल इन्द्रेणीबाट आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गर्ने भएकी छन् । त्यसैगरी उपाध्यक्ष, उपमहासचिव र कोषाध्यक्षसहित अन्य पदमा उठाउने उम्मेदवारबारे संस्थापनले छलफल गरिरहेको छ ।

युनियनको अध्यक्षमा संस्थापन इतरबाट शिव लम्सालले दाबी गरिरहेका छन् । त्यसैगरी लम्सालसगै दीपक आचार्य पनि अध्यक्षको दौडमा छन् । इतरबाट महासचिवमा खिला कार्की, नकुल अर्याल, दिलिप पौडेल र रमेश वाग्ले दौडमा छन् ।

युनियनको उपमहासचिवको दौडमा युवराज गौतम, सुलोचना गौतम, भुवन शर्मा, कुसुम बिक पनि छन् । कोषाध्यक्षमा माधव धिताल, पदमराज जोशी र मित्र भण्डारीले इच्छा देखाएका छन् । सचिवमा खगेन्द्र भण्डारी, मेनुका ढुंगाना, लोकेन्द्र भट्ट, विजय रेग्मी, तीर्थ बस्नेत, कालिका महत, राधा खनाल, टीकाराम सुनार र एलपी देवकोटा पनि दौडमा छन् ।

यसअघि युनियनको नेतृत्व सर्वसम्मत चयन गर्ने कोसिस भएको थियो । संस्थापनले अध्यक्ष र इतरले महासचिव लिने गरी छलफल भएको थियो । महाधिवेशनमा निर्वाचनबाटै नेतृत्व छानिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?