उपप्राध्यापकको जागिर छोडेर सांसद भएकी विद्या भट्टराई

लोकपथ
126
Shares

काठमाडौं । विद्या भट्टराई विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय भएकी नेता हुन् । उनी एमाले नेता राजन भट्टराईका बहिनी हुन् ।

२०४२ सालमा कक्षा ७ मा अध्ययन गर्दादेखि नै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनसँग नजिक भएर काम गरेको बताउने विद्याले पद्मकन्या क्याम्पसमा अध्ययन गर्दा विद्यार्थी आन्दोलनमा होमिइन् । अनेमा संघ जिल्ला समिति काठमाडौंको कोषाध्यक्षसमेत भएर काम गरिन् ।

२०५० सालमा अनेरास्ववियु महिला विभाग प्रमुख भएर काम गरिन् । २०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिवको जिम्मेदवारी लिएर काम गरिन् । त्यसबेला रवीन्द्र अधिकारी अनेरास्ववियुको महासचिव थिए । २०५६ मा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य र कार्यालय सचिव, बुद्धिजीवी परिषद सदस्य हुँदै विद्या प्राध्यापक क्षेत्रमा प्रवेश गरिन् ।
२०६२/०६३ को जनआन्दोलनपछि एमालेको संघीय मामिला विभागको सदस्य भएर काम गरकी विद्यासँग उच्च शिक्षा पाठयक्रम निर्माण समितिको सदस्य भएर काम गरेको अनुभव छ ।

त्रिभुवन विश्वविद्यालयमाको खुल्ला सेवा आयोग परीक्षा पास गरी २०७२ सालदेखि रत्नराज्य क्याम्पसमा स्थायीरुपमा उपप्राध्यापकको जागिर सुरु गरेकी उनी रवीन्द्र अधिकारीको निधनपछि तत्कालीन नेकपाको निर्णय मानेर कास्की–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भइन र जितिन् ।

सांसद भएर आएपछि उनले जनजीविकाका सवालहरुमा आवाज उठाउँदै आएकी छन् । महँगी, भ्रष्टाचार, अनियमितता र न्यायका विषयमा उनले सरकार र सरोकारवालाहरुलाई प्रश्न गर्ने गरेकी छन् । उनै भट्टराईलाई प्रमुख विपक्षी एमालेले उपसभामुखको उम्मेदवार बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?