काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ नेता तथा प्रवक्ता कृष्णबहादुर महराले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले ढोका खोलेका कारण एसपीपी आएको बताएका छन् । महराले सत्ता गठबन्धन, प्रतिपक्षसँगै चौतर्फी विरोधका कारण एसपीपी स्थगित भएको बताए ।
सोमबार संवाद डबलीमा ४५औँ जुगेडी किसान संघर्ष दिवसको अवसरमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ले आयोजना गरेको कार्यक्रममा बोल्दै महराले एसपीपी अहिले स्थगित भएपनि विरोध सेलाएपछि सम्झौता भित्रभित्रै गर्ने हुन कि भन्ने शंका कायमै रहेको बताए ।
महराले भने, “एसपीपी सम्झौताको सत्ता गठबन्धनमै विरोध भयो, सरकारले पनि गर्दनौँ भन्यो, प्रतिपक्षले पनि विरोध जनायो, संसद बाहिर रहेको राजनीतिक दलहरुले पनि विरोध जनाए र सम्पूर्ण देशभक्त नेपालीको विरोधका कारण रोकिएको छ । तर, मलाई शंका छ, विरोध सेलाउँदै गएपछि भित्रभित्रै फेरि सम्झौता त गर्ने होइनन् ?” महराले देश साम्राज्यवादी कित्तामा जाने हो कि भन्ने चिन्ता र शंका कायमै रहेको बताउँदै सबै सतर्क हुनुपर्ने धारणा राखे ।
विदेशी हस्तक्षेप रहेसम्म किसानको मुक्ति सम्भव नभएको बताउँदै महराले भने, “राष्ट्रिय स्वाधिनताको आन्दोलनपछि मात्र किसान मुक्ति सम्भव छ, त्यसैले सम्पूर्ण किसानहरु मुक्ति आन्दोलनमा प्रतिवद्ध हुनुपर्छ ।” अवस्था गम्भीर भएपनि निरास हुनेभन्दा साम्राज्यवादी हस्तक्षेप र सामन्तवादी उत्पीडनविरुद्ध किसान एक जुट हुुनुपर्ने बताए । किसानको समर्थन र सहभागीताकै कारण जनयुद्धबाट अहिलेको परिवर्तन प्राप्त भएको बताए ।
सरकारले ल्याएको सैद्धान्तिक रुपमा राम्रो भएको बताउँदै किसानलाई आत्मनिर्भर बनाउन सरकारले उत्पादनमा जोड दिनुपर्नेमा महराले जोड दिए । बजेट कार्यान्वयनमा बजारीकरण भन्दा उत्पादनमा जोड दिनुपर्ने बताए । पहिला उत्पादन त्यसपछि मात्रै बजारीकरण हुने बताए । एक अर्को प्रसंगमा महराले आफू सभामुख भएको बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मोहियानी हक र मल कारखाना खोल्न सुझाव दिएको बताए । ओलीले केही गर्न खोजेजस्तो देखिएपनि त्यो नभएको बताए ।
कार्यक्रममा किसान नेता हिरालाल महर्जन, माओवादी केन्द्रका केन्द्रीय सदस्य रणेन्द्र बराली, माओवादी केन्द्रीय सदस्य सुनिल मानन्धरले पनि राष्ट्रिय स्वाधिनतापछि मात्रै किसानले हक अधिकार प्राप्त गर्ने धारणा राखेका थिए ।
कार्यक्रमको अध्यक्षता किसान नेता चित्रबहादुर केसीले गरेको थिए भने संचालन नहेन्द्र खड्काले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया