पूर्वराष्ट्रपति मुसर्रफलाई पाकिस्तान फर्कन पाकिस्तानी सरकारले अवरोध नगर्ने

लोकपथ
385
Shares

काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई पाकिस्तान फर्कन अवरोध नगर्ने बताएका छन् । हाल गम्भीर रोगबाट थलिएका मुसर्रफले दुबईको अस्पतालमा उपचार गराइरहेका छन् ।

शुक्रबार उनको मृत्यु भएको हल्ला चलेको थियो । पछि उनको परिवारले विज्ञप्ति जारी गर्दै उनी अस्वस्थ रहेको र विगत तीन सातादेखि अस्पतालमा रहेको जानकारी दिएका थिए ।

ख्वाजा आसिफ नवाज शरीफको पार्टी मुस्लिम लिग (एन)का वरिष्ठ नेता हुन् र सन् १९९९ मा जनरल परवेज मुशर्रफले यही दलका प्रधानमन्त्री नवाज शरिफको सरकारलाई अपदस्थ गरेर सत्ता कब्जा गरेका थिए ।

‘जनरल परवेज मुसर्रफको बिग्रँदै गएको स्वास्थ्यलाई मध्यनजर गर्दै उनको स्वदेश फिर्तीलाई कुनै बाधा हुनु हुँदैन । विगतका घटनाले यसमा असर पार्न हुँदैन । अल्लाहले उहाँलाई स्वास्थ्य प्रदान गरून् र यो उमेरमा उनी इज्जतका साथ बाच्न पाऊँन्’ रक्षामन्त्री आसिफले ट्वीटमा भनेका छन् ।

परवेज मुसर्रफ सन् १९९९ देखि २००८ सम्म पाकिस्तानको सत्तामा थिए । सन् २०१४ मा उनीमाथि सन् २००७ मा पाकिस्तानको संविधान उल्लंघन गरेको अभियोगमा मुद्दा चलाइएको थियो ।

त्यस मुद्दाको फैसला गर्दै पाकिस्तानको एक अदालतले उनलाई सन् २०१९ मा देशद्रोहको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।

तर उनी फैसलाको बेला दुबईमा थिए । उनी सन् २०१६ मै उपचारका लागि भन्दै पाकिस्तान छोडेर दुबई गएका थिए । त्यसयता उनी पाकिस्तान फर्किएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?