काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री महेन्द्रराय यादवले मलको समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागि छुट्टै निकाय स्थापना गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले नेपाल आयल निगमजस्तै छुट्टै निकाय स्थापना गरेर मात्रै मलको समस्या दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने अवस्था रहेको बताए ।
त्यसैगरी उनले मल कारखानाको स्वदेशमै स्थापना गर्नुपर्ने, मलको खरिद जिटूजी प्रक्रियामा अघि बढाउन सकेमात्रै नेपालमा मलको समस्या समाधान गर्न सकिने स्पष्ट पारे । मन्त्री यादवले असार १५ गतेभित्र किसानहरुका लागि मल उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए ।
भारत सरकारले ५ लाख मेट्रिक टन मल चालू आर्थिक वर्षभित्रै उपलब्ध गराउने आश्वासन दिएकाले सो समस्या समाधान हुने उनको भनाइ थियो । मन्त्री यादवले मल कारखाना स्थापनाका लागि लगानी बोर्डमा सम्भाव्यता अध्ययन भइरहेको उल्लेख गर्दै छिट्टै त्यो प्रक्रिया अघि बढने आश्वासन समेत दिए । उनले कृषि मन्त्रालयले त्यसका लागि उद्योग मन्त्रालय र लगानी बोर्डलाई दबाब दिइरहेको पनि स्पष्ट पारे ।
मन्त्री यादवले बेमौसमी वर्षाका कारण बालीको क्षतिपूर्ति दिने काम आफ्नो मन्त्रालयको नभएको स्पष्टिकरण दिए । गृह मन्त्रालयले त्यसको क्षतिपूर्ति दिने भएकाले यसका लागि पीडित किसानहरुको सूचि दिइएको उनको भनाइ थियो ।
मन्त्री यादवले किसान पेन्सन उपलब्ध गराउन अर्थ मन्त्रालय र सरोकारवाला निकायसँग छलफल भइरहेको बताए । हालसम्म पाँच लाख किसानलाई पेन्सन दिनका लागि सूचिकृत भइरहेको उल्लेख गर्दै उनले उनीहरुलाई छिट्टै उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।
मन्त्री यादवले भूमिहीन कृषक र कृषि मजदुरहरुलाई कृषक सुरक्षा कार्यक्रममा सहभागी गराइने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया