संसदमा खगराज अधिकारीको प्रश्न : ‘२४ लाख खोप कहाँ गयो ?’

लोकपथ
56
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको उल्लेख गर्दै त्यसको जवाफ दिन सरकारसँग माग गरेका छन् ।

पूर्वस्वास्थ्य मन्त्री समेत रहेका सांसद अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप सरकारले कमिसन लिएको कारण हराएको आशंका गर्दै त्यसबारे संसदमा यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका हुन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गतको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो खोपबारे आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराएको भन्दै असन्तुष्टि व्यक्त गरे । आफू स्वास्थ्यमन्त्री भएकै बेला एचआईभी एड्सदेखि क्यान्सरसम्मका १३९ वटा औंषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गर्दै सांसद अधिकारीले त्यसबारे अरु थप भ्रम नछर्न पनि सरकारलाई चेतावनी दिए ।

उनले भने, ‘२४ लाख खोप कहाँ गयो ? हामीले उठाई राखेका छौं । समितिमा उठाएका छौं । सम्माननीय प्रधानमन्त्रीज्यूकोमा गएर भनिएको छ । त्यो २४ लाख खोप कम्पनीबाटै कमिसनमा हराएको हो ? सभामुख महोदय । त्यसको जवाफ चाहिँदैन । निःशुल्क औषधिको कुरा चल्यो । म स्वास्थ्यमन्त्री हुँदा नै ७२ वटा त नयाँ औषधि निःशुल्क बनाएको हो । १ सय ३९ वटा औषधि त त्यतिबेलै निःशुल्क गरिएको थियो एचआईभी एड्सदेखि क्यान्सरसम्मका । अनि अहिले यहाँ के–के गरे भनेर भ्रमको खेती गरिँदै छ । यसको जवाफ चाहिएन सभामुख महोदय । गत आर्थिक वर्षको भन्दा २२ प्रतिशत बढी बजेट कम गरिएको छ । त्यसप्रति मेरो आपत्ति छ ।’

सांसद अधिकारीले गत वर्षको भन्दा स्वास्थ्य क्षेत्रमा सरकारले २२ प्रतिशत भन्दाबढी बजेट घटाएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?