काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले जातीय भेदभाव गरी विद्यार्थी भर्ना नलिने ललितपुरको शंखमुलस्थित जगद्गुरु आदर्श संस्कृत गुरुकुलका प्राचार्यलाई कारबाही गर्न माग गरेको छ ।
गुरुकुलले बर्दियाबाट आई भर्ना हुन कपाल मण्डनसमेत गरिसकेको अवस्थामा जातीय भेदभाव गरी भर्ना नलिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै अनेरास्ववियुले गुरुकुलका प्राचार्यलाई कारबाही गर्न माग गरेको हो ।
हिजो २५ जेठमा ललितपुरको शंखमुलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण आश्रमको पूर्वस्वीकृति अनुसार ब्रतबन्ध गरी कपालसमेत मुण्डन गरेर भर्ना हुन पुगेका बर्दिया जिल्ला, बारबर्दिया नगरपालिका–६ का १० वर्षे समीर सुनार, १२ वर्षे विराज सुनार, ५ वर्षे भुवेश्वर सुनार र १० वर्षे भीमबहादुर सुनारलाई पढाईबाट बञ्चित गरेको प्रति अनेरास्ववियुको ध्यानाकर्षण भएको छ,’ अध्यक्ष सुनीता बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गुरुकुलका प्राचार्यलाई कारबाहीको माग गर्दै बरालले विज्ञप्तिमा उल्लेख गरेकी छन्, ‘५० जनाको सिट क्षमता भएको गुरुकुलमा ३३ जना मात्रै विद्यार्थी भर्ना हुँदा पनि सीट संख्या पूरा भएको झुठो दाबी गर्ने प्राचार्यलाई कारबाहिको दायरामा ल्याउन प्रशासन समक्ष जोडदार माग गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया